सिर्जना सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्नः पारदर्शिता र उत्पादनमूलक लगानीमा जोड।
स्थानीय
सिर्जना सहकारीको २७औँ वार्षिक साधारण सभा सम्पन्नः पारदर्शिता र उत्पादनमूलक लगानीमा जोड।

कोहलपुर (बाँके) । करिब १५ लिटर दूधको सानो कारोबारबाट स्थापना भई स्थानीयस्तरमा छुट्टै पहिचान बनाउन सफल सिर्जना सहकारी संस्था लिमिटेड कोहलपुर–११, बाँकेको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
स्थानीयस्तरमा छरिएर रहेको स–सानो पुँजी सङ्कलन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, कृषकले उत्पादन गरेको दूधको उचित सङ्कलन तथा बजारीकरणमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने र सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्ने मूल उद्देश्यका साथ यो संस्था क्रियाशील रहँदै आएको हो।
संस्थाका अध्यक्ष दशरथ शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष पृथ्वीबहादुर रावतले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रावतले सहकारी संस्थाहरू स्थानीय समुदायको आर्थिक विकास, रोजगारी सिर्जना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। सहकारीले सदस्यहरूको विश्वास कायम राख्दै पारदर्शिता र सुशासनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
त्यसैगरी विशिष्ट अतिथि श्री सहकारी संस्था लिमिटेड कोहलपुर–११ का अध्यक्ष पारसनाथ थारुले सहकारीको विकासमा सामूहिक एकता, सहकार्य र सदस्यहरूको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा अतिथि कोहलपुर नगर पशु सेवा केन्द्रका प्रमुख गोविन्द रोकायले दुग्ध उत्पादन तथा पशुपालन क्षेत्रको विकासमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्दै कृषकलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो।
सभामा संस्थाका अध्यक्ष दशरथ शर्मा पराजुलीले संस्थाको वार्षिक प्रगति, उपलब्धि, चुनौती तथा आगामी योजनासहितको अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी लेखा संयोजक कृष्णप्रसाद मुगाईले आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनअनुसार संस्थाको कुल कारोबार १४ करोड ६१ लाख ५७ हजार ६१९ रुपैयाँ ४९ पैसा पुगेको छ। आर्थिक विवरणमा कुल आम्दानी ६ करोड ५६ लाख ७३ हजार २०० रुपैयाँ र खर्च ६ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको उल्लेख छ। आम्दानीबाट खर्च कटाउँदा संस्थाले ४१ लाख १३ हजार २०० रुपैयाँ खुद बचत गर्न सफल भएको छ। हाल संस्थामा १ हजार ७७५ जना शेयर सदस्य आबद्ध रहेका छन् भने १७० जना सदस्यमा ऋण लगानी गरिएको छ। दुग्ध कारोबारलाई संस्थाको महत्वपूर्ण आधार बनाउँदै आएको सहकारीले हाल ४५० जना कृषकलाई आबद्ध गराएको छ।
स्थानीय कृषकले उत्पादन गरेको दूध सङ्कलन तथा बजारीकरण गर्दै आएको संस्थाले कृषकलाई नियमित बजार र आम्दानीको अवसर प्रदान गर्दै आएको छ। यसले ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई प्रोत्साहन गर्नुका साथै कृषकको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुर्याएको छ। रोजगारी सिर्जनातर्फ पनि संस्थाले महत्वपूर्ण योगदान पुर्याएको छ। संस्थाले प्रत्यक्ष रूपमा १२ जनालाई रोजगारी प्रदान गरेको छ भने दुग्ध व्यवसायमार्फत करिब ३५ देखि ३६ जनालाई कारोबार तथा रोजगारीको अवसर उपलब्ध गराएको छ। यसले स्थानीयस्तरमा उत्पादन, व्यवसाय र रोजगारीको सम्भावना विस्तार गर्न सहयोग पुगेको देखिन्छ। सभामा संस्थाका उपाध्यक्ष मिना आचार्य, लेखा संयोजक कृष्णप्रसाद मुगाई, व्यवस्थापक चन्द्रलाल तिवारीलगायत शेयर सदस्य, कर्मचारी तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभाको समापन गर्दै अध्यक्ष दशरथ शर्मा पराजुलीले १४ लिटर बाट सुरु भएको यस संस्थाले यो अबस्थासम्म फट्को मारेकोले संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने शेयर सदस्य, कृषक, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै कृषि तथा दुग्ध व्यवसायको प्रवर्द्धनमा थप सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष पराजुलीको समापन मन्तव्यसँगै संस्थाको २७औँ वार्षिक साधारण सभा विधिवत् रूपमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक चन्द्रलाल तिवारीले गर्नुभएको थियो।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!


