कोहलपुर १० मा अबस्थित श्री श्रृष्टी सामुदायिक वनको १६ औँ साधारण सभा सम्पन्न ।
स्थानीय
कोहलपुर १० मा अबस्थित श्री श्रृष्टी सामुदायिक वनको १६ औँ साधारण सभा सम्पन्न ।

कोहलपुर, असोज २२
बाँकेको कोहलपुर नगरपालिका–१० मा रहेको श्री श्रृष्टी सामुदायिक वन उपभोक्ता समूहको १६ औँ साधारण सभा, लेखा परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
वन संरक्षण, हरियाली प्रवर्द्धन, काठपातको व्यवस्थित उपयोग तथा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राख्दै साधारण सभा सम्पन्न गरिएको हो।
समूहका अध्यक्ष तारा बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका–१० का वडा सदस्य श्यामलाल थारूले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक वन संरक्षण गर्नु सिङ्गो समाजको साझा दायित्व भएको बताए। उनले स्थानीय सरकार र सामुदायिक वनबीच सहकार्य र समन्वय गर्दै वन क्षेत्रको संरक्षण तथा हरियाली प्रवर्द्धनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा वनका सल्लाहकार हरिबहादुर रावतले वन क्षेत्रमा हुने काठ तस्करी नियन्त्रणसँगै वन पैदावारको सही र व्यवस्थित सदुपयोगका लागि उपभोक्ता थप सचेत हुनुपर्नेमा जोड दिए। त्यस्तै लालबहादुर राना, रेडियो प्रतिबोध एफएमका प्रतिनिधि रामगोपाल वि.क., लिलाराम शर्मा, गोरे रावत र तर्कबहादुर शाह लगायतले सामुदायिक वनलाई काठ–दाउरा उत्पादनमा मात्र सीमित नराखी आयआर्जन, पर्यटन तथा स्थानीय आर्थिक विकाससँग जोड्नुपर्ने धारणा राखे।उनीहरूले वन समूहले कायम गरेको आर्थिक पारदर्शिता सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा समेत उपभोक्ताबीचको एकता र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए।
सभामा अध्यक्ष खत्रीले समूहको प्रगति प्रतिवेदनसँगै आर्थिक तथा नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि छलफलपछि सभाले विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको जनाइएको छ।
सभामा उपाध्यक्ष निर्मला बुढाथोकी, सचिव सबिता जीरी, कोषाध्यक्ष शिवकुमार शर्मा, सह–सचिव भक्तबहादुर बुढाक्षेत्री लगायत कार्यसमिति सदस्य तथा उल्लेख्य संख्यामा वन उपभोक्ताहरूको सहभागिता रहेको थियो।
अन्त्यमा अध्यक्ष खत्रीले उपस्थित सबैलाई धन्यवाद दिँदै सामुदायिक वनको संरक्षण, संवर्द्धन र विकासमा आगामी दिनमा पनि सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








