स्थानीय

कोहलपुर १० अबस्थित वृत्ति विकास कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न।

Samayapati

 ​कोहलपुर (बाँके)  कोहलपुर १० स्थित  श्री वृत्ति विकास कृषि सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।

​उद्यमशिलता पारदर्शी र सहकारीको प्राथमिकता भन्ने मुल नारा सहित  सदस्यहरूमा नियमित बचत गर्ने बानीको विकास गर्दै छरिएर रहेको सानो–सानो पुँजीलाई एकीकृत गरी सुलभ ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै आधुनिक कृषि उत्पादन, उद्यमशीलता प्रवर्द्धन र आत्मनिर्भर समाज निर्माण गर्ने मूल उद्देश्यका साथ संस्था क्रियाशील रहँदै आएको छ । सोही उद्देश्यअनुरूप संस्थाले वार्षिक प्रगति समीक्षा र आगामी कार्ययोजना निर्माणका लागि साधारण सभा आयोजना गरेको हो ।

​संस्थाका अध्यक्ष रामबहादुर थारुको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी सङ्घकी प्रतिनिधि केश कुमारी भण्डारीले पानसमा बत्ती बालेर गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उद्घाटन सत्रमा प्रमुख अतिथि भण्डारीले ग्रामीण तथा स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारीको मर्म र सिद्धान्तअनुसार बचत तथा ऋण कारोबारसँगै कृषि उत्पादन, प्रशोधन र बजारीकरणमा संस्थाले अझ प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय स्रोतसाधनको अधिकतम परिचालन गरी आत्मनिर्भरता बढाउन सहकारी अभियानलाई थप सुदृढ बनाउनुपर्ने उहाँको भनाइ थियो । ​

साधारण सभामा विशिष्ट अतिथिका रूपमा कोहलपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष गौराकुमारी भट्टराईको उपस्थिति रहेको थियो । उहाँले स्थानीय तह र सहकारी संस्थाबीचको सहकार्यले वडा तथा नगरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषि र उद्यमशीलतासँग जोडिएका कार्यक्रममा स्थानीय सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उहाँले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

​कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनारायण पौडेल, निवर्तमान अध्यक्ष फडाकुमारी शर्मा र कानुनी सल्लाहकार कर्णबहादुर केसीको समेत विशेष उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै निवर्तमान अध्यक्ष शर्माले जम्मा १२ सय रुपैयाँबाट सुरु भएको यो संस्था आज ५ करोड रुपैयाँसम्मको कारोबार गर्न सफल भएको देख्दा आफूलाई अत्यन्तै खुसी र गर्व महसुस भएको बताउनुभयो ।

संस्थालाई यो उचाइसम्म ल्याउन सञ्चालक समिति, कर्मचारी र सम्पूर्ण सेयर सदस्यहरूको सामूहिक मेहनत र इमान्दारिताको मुख्य भूमिका रहेको उहाँको भनाइ थियो । यस्तै, अन्य वक्ताहरूले संस्थाको विगतको यात्रा, कानुनी अनुपालना, सुशासन तथा आगामी कार्यदिशाका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

​साधारण सभामा पत्रकार, स्थानीय समाजसेवी तथा संस्थाका सम्पूर्ण सेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

बन्दसत्रमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गरिएको थियो । सेयर सदस्यहरूले राखेका जिज्ञासा र सुझावलाई संस्थाले आगामी योजनामा समेट्ने प्रतिबद्धता जनाएको छ । ​

कार्यक्रमका सञ्चालक शेरबहादुर योगीको आकर्षक र मीठो उद्घोषणमा सञ्चालन भएको उक्त सभाको व्यवस्थापकीय सहजीकरण संस्थाकी व्यवस्थापक शान्ति सिंहलगायत सञ्चालक समिति तथा सम्पूर्ण कर्मचारीहरूले गर्नुभएको थियो भने विभिन्न बिधामा शेर सदस्यहरु सम्मानित हुनुभएको थियो। ​

सभाको समापन सत्रमा बोल्दै सभाध्यक्ष रामबहादुर थारुले साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, सल्लाहकार, पत्रकार, व्यवस्थापक, कर्मचारी तथा सम्पूर्ण सेयर सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । सदस्यहरूको निरन्तर साथ, विश्वास र सक्रिय सहभागिताकै कारण संस्थाले १३औं साधारण सभासम्म आइपुग्दा उल्लेखनीय प्रगति हासिल गर्न सकेको उहाँले बताउनुभयो । आगामी दिनमा कृषि क्षेत्रको आधुनिकीकरण, सदस्य सेवाको गुणस्तर वृद्धि र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष थारुले सभा विसर्जन गर्नुभएको थियो ।


प्रकाशित मिति: शनिवार, मंसिर ६, २०८३, ०२:४८:००
प्रतिक्रिया दिनुहोस्