कमिट नेपाल बाँकेको १९औँ वार्षिक साधारण सभा सम्पन्न !
स्थानीय
कमिट नेपाल बाँकेको १९औँ वार्षिक साधारण सभा सम्पन्न !

बाँके — सीमान्तकृत, उत्पीडित तथा बादी समुदायको सशक्तीकरण, शिक्षा, स्वास्थ्य र अधिकारका क्षेत्रमा क्रियाशील संस्था ‘कमिट नेपाल’ को १९औँ वार्षिक साधारण सभा यहाँ भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सीतरा नेपालीको अध्यक्षता तथा राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा विभिन्न क्षेत्रका सरोकारवाला, अधिकारकर्मी, सामाजिक अभियन्ता तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण संस्थाका निर्देशक केशव नेपालीले गर्नुभएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि द्वारिका अधिकारीले कार्यक्रमस्थलमा राखिएको ब्यानर पढेर गर्नुभएको थियो। उद्घाटन पश्चात् मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले कमिट नेपालले लामो समयदेखि पछाडि पारिएका समुदायसँग प्रत्यक्ष जोडिएर शिक्षा, स्वास्थ्य, सहकारी, चेतना अभिवृद्धि र अधिकारका क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले मानवअधिकार संरक्षण र सामाजिक न्यायका लागि सरकारी तथा गैरसरकारी निकायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।
साधारण सभामा विशेष अतिथि सुशिलावादी नेपाली, कमिटी नेपालका संयोजक प्रकाश नेपाली, गैरसरकारी संस्था महासङ्घका प्रतिनिधि मन भण्डारीलगायतले मन्तव्य राख्दै बादी, दलित र सीमान्तकृत समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक स्तर उकास्न संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। वक्ताहरूले समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउन, अभिभावकमा चेतना जगाउन र राज्यका विभिन्न तहमा समुदायको पहुँच बढाउन निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताए।
सभामा संस्थाका निर्देशक केशव नेपालीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले बाँकेको नेपालगञ्ज तथा बर्दियाको राजापुर नगरपालिकालगायतका क्षेत्रमा सञ्चालन गरिरहेका विभिन्न गतिविधिहरूको जानकारी गराउनुभयो। प्रतिवेदन अनुसार संस्थाले समूह परिचालन, सामुदायिक चेतना अभिवृद्धि, शैक्षिक छात्रवृत्ति, बालकेन्द्र सञ्चालन, मनोसामाजिक परामर्श, स्वास्थ्य तथा सरसफाइ, हाइजेनिक किट वितरण, आपतकालीन स्वास्थ्य सहयोग र सामाजिक लेखा परीक्षणलगायतका कार्यक्रमहरू गर्दै आएको छ। आजको कार्यक्रममा सम्मानित रेडियो प्रतिबोध एफएम , राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज , निर्देशक केशव नेपाली , गोपाल नेपाली , दिपिका शिह नेपाली रहेका थिए।
सभाको समापन गर्दै अध्यक्ष सीतरा नेपालीले संस्थाको अभियानमा निरन्तर सहयोग पुर्याउने स्थानीय सरकार, सहयोगी संस्था, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी र समुदायका सम्पूर्ण दाजुभाइ–दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले १९औँ वार्षिक साधारण सभा केवल औपचारिकता मात्र नभई आगामी दिनमा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि प्रभावकारी र परिणाममुखी कार्यक्रमहरू अघि बढाउने नयाँ सङ्कल्प गर्ने अवसर भएको बताउँदै सभाको समापन गर्नुभयो।
थप समाचार

स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!





.jpg)



