कुशे गाउँपालिकाको मानवतावादी निर्णय: बाढीपहिरो पीडितका लागि डेढ लाख सहयोग घोषणा !
स्थानीय
कुशे गाउँपालिकाको मानवतावादी निर्णय: बाढीपहिरो पीडितका लागि डेढ लाख सहयोग घोषणा !

जाजरकोट — प्राकृतिक विपद्का यस दुष्चक्र र पीडादायी घडीमा स्थानीय सरकारहरूले पनि सहकार्य र मानवीय समवेदना प्रस्तुत गर्न थालेका छन्।
यसैक्रममा जाजरकोट जिल्लाको कुशे गाउँपालिकाले हालै देशका विभिन्न स्थानमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित पीडितहरूको उद्धार र राहतका लागि आर्थिक सहयोग गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत र उपाध्यक्ष देविका सिंहको विशेष पहल तथा प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर भण्डारी र गाउँपालिकास्तरीय सम्पूर्ण पदाधिकारीहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले यस विपद्को घडीमा पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै ठूलो राहत सहयोगको घोषणा गरेको हो।
निर्णयका मुख्य बुँदाहरू रसुवा, नुवाकोट र धादिङका पीडितका लागि: गत भाद्र १० गते रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका, घाइते भएका तथा प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि 'प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष' मार्फत रु. १,००,००,०० (एक लाख रुपैयाँ) सहयोग गर्ने निर्णय गरिएको छ।
जाजरकोट भेरी नगरपालिका अन्तरगत रिसाङ बाढीपहिरो पीडितका लागि: त्यसैगरी, हालै रिसाङ क्षेत्रमा गएको बाढीपहिरोबाट पीडित बनेका नागरिकहरूको राहतका लागि समेत थप रु. ५०,००० (पचास हजार रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।
जनप्रतिनीधिहरूको भनाइ बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विपद्ले मुलुकका विभिन्न भागमा पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे। उनले भने, "प्रकृतिले देशका विभिन्न भू-भागमा मच्चाएको ताण्डव र त्यसबाट नागरिकहरूले भोग्नुपरेको पीडाले हामीलाई पनि उत्तिकै मर्माहत बनाएको छ। भौगोलिक हिसाबले हामी टाढा भए पनि पीडामा परेका दाजुभाइ दिदीबहिनीप्रतिको हाम्रो मानवीय कर्तव्य र नैतिक दायित्वबाट हामी पछि हट्न सक्दैनौँ। यो सानो सहयोगले उहाँहरूको घाउमा केही मात्रामा भए पनि मलम लगाउने र राज्यको उपस्थितिलाई महसुस गराउने विश्वास लिएका छौँ।"
त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले पनि दुःखको यस घडीमा सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकहरूलाई दलीय सीमाभन्दा माथि उठेर मानवीय सद्भाव देखाउन अपिल गरिन्। उनले भनिन्, "विपद्ले कसैलाई जात, धर्म वा क्षेत्र हेर्दैन। आज उहाँहरूलाई परेको छ, भोलि हामीलाई पनि पर्न सक्छ। त्यसैले यस्तो कठिन परिस्थितिमा एक अर्काको सहयात्री बन्नु नै सक्कली मानवता हो। स्थानीय सरकारको तर्फबाट हामीले यो सानो पहल गरेका छौँ। आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा कुशे गाउँपालिका सधैँ अग्रपङ्क्तिमा उभिनेछ।"
स्थानीय तहबाट उदाहरणीय पहल कुशे गाउँपालिकाले गरेको यो मानवीय र समयसापेक्ष निर्णयप्रति स्थानीयवासी तथा विभिन्न संघसंस्थाले उच्च प्रशंसा गरेका छन्। सीमित स्रोत र साधनका बाबजुद पनि राष्ट्रिय विपद्का बेला संघीय कोषमा रकम जम्मा गरेर र स्थानीय स्तरका पीडितलाई समेत सम्बोधन गरेर गाउँपालिकाले गतिलो सन्देश दिएको छ।
आपत्कालीन अवस्थामा सरकार र जनता एकताबद्ध भएर उभिनुपर्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको कुशे गाउँपालिका परिवारको यस संवेदनशील र सराहनीय कदमप्रति चौतर्फी धन्यवाद ज्ञापन गरिएको छ। यस किसिमका कार्यले अन्य स्थानीय तहहरूलाई पनि आपत्कालीन सहयोगका लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
यस दुःखद घडीमा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, सम्पूर्ण देशवासीमा मानवीय सद्भाव कायम राख्न र पीडितहरूको उद्धारमा आ-आफ्नो ठाउँबाट योगदान दिन समेत अनुरोध गरिएको छ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








