ग्रामीण विद्युत बचत तथा ऋण सहकारीको १२औं साधारण सभा सम्पन्न, पारदर्शी सहकार्यमा जोड!
स्थानीय
ग्रामीण विद्युत बचत तथा ऋण सहकारीको १२औं साधारण सभा सम्पन्न, पारदर्शी सहकार्यमा जोड!

‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नाराका साथ बाँकेको बैजनाथ २ मा रहेको ग्रामीण विद्युत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं साधारण सभा सम्पन्न भएको छ।
ग्रामीण क्षेत्रमा रहेका सर्वसाधारणको आर्थिक स्तर उकास्ने, बचत गर्ने संस्कार विकास गर्ने, ऋण सहज रूपमा उपलब्ध गराउने र आत्मनिर्भर समाज निर्माणमा टेवा पुर्याउने यस संस्थाको उदेश्य रहेको हो।
कार्यक्रमका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतामा प्रमुख अतिथि बैजनाथ गाउँपालिका वडा नं २ का अध्यक्ष राजु रुचाल ठकुरीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रुचाल ठकुरीले सहकारी संस्थाहरू समाजको आर्थिक मेरुदण्डका रूपमा काम गरिरहेको उल्लेख गर्दै ग्रामीण भेगका नागरिकलाई वित्तीय सेवामा पहुँच पुर्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सहकारी संस्थाहरूले पारदर्शिता, उत्तरदायित्व र सदस्यको हितका लागि निरन्तर क्रियाशील रहनुपर्ने आवश्यकता औंल्याए।
विशिष्ट अतिथि निवर्तमान बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले सहकारीलाई विकास र आत्मनिर्भरताको प्रमुख आधारका रूपमा लिँदै यसको पारदर्शिता र उत्तरदायित्वलाई सुदृढ बनाउने आवश्यकता रहेको बताए। उनले ग्रामीण क्षेत्रका सर्वसाधारणको आर्थिक स्तर उकास्न सहकारीहरूले व्यावसायिकता, ईमानदारी र सदस्यमुखी सेवामा अझ जोड दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा विशेष अतिथि तथा उपाध्यक्ष बलध्वज सलामी मगर, अतिथि टिकाराम राणा क्षेत्री, मोहन थापा, खगिसरा थापा मगर, सीतादेवी विश्वकर्मा, तुलसरा रोकाया, भावना थापा मगर, लल्लुराम थारु, परिमल राणा, वीरमा पौडेल, देवेन्द्र बिष्ट, मनबहादुर बस्नेत, लेखा संयोजक रमेश बुढा, रामबहादुर बुढा र सोनु थारु लगायतको सहभागिता रहेको थियो।
त्यस्तै, संस्थाको मेरुदण्डका रूपमा हेरिने सेयर सदस्यको संख्या १,४६८ रहेको छ, जसमध्ये ९४१ जना महिला र ५२७ जना पुरुष सदस्य रहेका छन्। समूहगत रूपमा कारोबार गर्नका लागि ७८ वटा समूह गठन भई क्रियाशील रहेका छन्। बिना धितो ऋण प्रवाहको लागि समूहमा आबद्ध हुनुपर्ने र धितो जमानीबाट ऋण लिनको लागि व्यक्तिगत रूपमै सेयर सदस्यलाई ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ। संस्थाले आर्थिक वर्ष ०८१/०८२ मा १० करोड ७९ लाख ८६ हजार ११७ रुपैयाँ ९० पैसाको कारोबार गरेको जनाएको छ। सो अवधिमा संस्थाले ५२ लाख ९४ हजार १६७ रुपैयाँ ९३ पैसाको नाफा आर्जन गरेको छ। सहकारीले आफ्नो सेवा, बचत, ऋण र लगानीका क्षेत्रमा सदस्यहरूलाई सुलभ सेवा प्रदान गर्दै आएको छ।
आजको कार्यक्रममा यस सस्थामा आबद्ध शेयर सदस्यहरु विभिन्न बिधामा सम्मानित भएका थिए भने अध्यक्ष तथा कार्यक्रमका सभापति बस्नेतले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै कार्यक्रमको समापन सत्रमा सबै सदस्य, अतिथि, सरोकारवाला र सहकारीप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको प्रगति निरन्तर रहन सबैको सहकार्य र साथ आवश्यक रहेको बताए। उनले संस्थाले ग्रामीण क्षेत्रका सर्वसाधारणको जीवनस्तर सुधार गर्न थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जानकारीसमेत दिए। बस्नेतले सहकारीलाई पारदर्शी र सदस्यमुखी बनाउँदै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरे।
साधारण सभामा सहभागी सदस्यहरूले संस्थाको वार्षिक प्रतिवेदन, लेखा विवरण र आगामी वर्षका योजनाबारे सुझाव राखेका थिए। कार्यक्रममा उपस्थित सदस्यहरूको उत्साही सहभागिता, पारदर्शी प्रस्तुति र समावेशी भावना देखिएको थियो।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!