स्थानीय

नेपालगन्ज धम्बोजी मा.बि. मा अध्यनरत कक्षा १० र १२ की छात्रा अब फर्केर नआउने: जाजरकोट कुशे–७ ले गुमायो दुई अमूल्य जीवन!

Samayapati

 नेपालगन्जको धम्बोजी माध्यमिक विद्यालय आज शोकमग्न छ।

विद्यालयका दुई अनुशासित, मेधावी र सक्रिय विद्यार्थी—दिदीबहिनी गीता शिह र मीना शिह—अचानक खोलाको भेलसँगै हराएको खबरले सम्पूर्ण परिवार, शिक्षक, सहपाठी र समुदायलाई शोकसागरमा डुबाइदिएको छ।

जाजरकोटको कुशे गाउँपालिका–७ समाकोट निवासी एउटै घरकी दुई बहिनी, १५ वर्षीया गीता र १८ वर्षीया मीना, शुक्रबार दिउँसो गाउँकै समाकोट खोलामा नुहाउने क्रममा पौडी खेल्दै गर्दा मृत्यु भएको हो।

उमेरले किशोरी भए पनि उनीहरू अध्ययन, आचरण र व्यवहारमा सबैका प्रिय थिए। कक्षा १० मा अध्ययनरत गीता आफ्ना शिक्षकहरूको नजरमा शान्त स्वभावकी अनुशासित विद्यार्थी थिइन् भने कक्षा १२ मा अध्ययनरत मीना विद्यालयकै सक्रिय, मेहनती र मेधावी छात्रा मानिन्थिन्।

जीवनको सपनाले भरिएका दुई किशोरीको मृत्युको खबर विद्यालय परिसरमा फैलिँदा एकाएक स्तब्धता छायो। शिक्षक–शिक्षिका शोकमा आँसु रोक्न नसके, सहपाठीहरू स्तब्ध बने, अभिभावकहरू पीडामा भासिए।

खेलमैदानमा रमाउँदै, हाँसोमा साथीहरूलाई प्रेरणा दिने दुई अनुहार अब सधैँका लागि मौन बनेपछि विद्यालयमा खालीपनको वातावरण छाएको छ।

धम्बोजी माध्यमिक विद्यालयले शोक विज्ञप्ति जारी गर्दै गीता र मीनाको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गरेको छ। विज्ञप्तिमा विद्यालय परिवारले दुबै आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

विद्यालय प्रशासनले भनेको छ, “विद्यालयका उज्यालो तारा गीता र मीना हामीबीच रहेनन्, तर उनीहरूको अनुशासन, मेहनत र उदाहरणीय जीवनशैलीले सधैं हामीलाई प्रेरणा दिनेछ।”

समुदायका अभिभावकहरू पनि शोकसन्तप्त बनेका छन्। एउटै घरका दुई फूल एकैपटक झरेपछि समग्र गाउँ नै शोकग्रस्त भएको छ। भोलिको उज्यालो भविष्य निर्माण गर्ने सपना बोकेर पढाइमा लागिरहेका दुई दिदीबहिनी अकालमै हराएपछि सबैका आँखामा आँसु र हृदयमा पीडा छ।

अचानक भएको यो दुर्घटनाले जीवन कति नाजुक हुन्छ भन्ने कुरा फेरि स्मरण गराएको छ। परिवारले गुमाएको अपूरणीय क्षति पूर्ति असम्भव छ, तर उनीहरूले बाँकी जीवनलाई सहनशीलताका साथ अघि बढाउन सकून् भन्ने सबैको प्रार्थना छ।


प्रकाशित मिति: आइतवार, आश्विन १२, २०८२, ०७:५६:००
प्रतिक्रिया दिनुहोस्