स्थानीय

ग्रीन पिस द्वारा कक्षा ११ का बिद्यार्थीहरुलाई भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न!

Samayapati

 कोहलपुर, साउन ३० – “संस्कार, सिप र प्रविधि सहितको शिक्षा; एक्काइसौं शताब्दीको आवश्यकता” भन्ने मूल नारासहित ग्रीन पिस सेकन्डरी स्कूल, कोहलपुर–१२, छप्परगौरीले शुक्रबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको लागि भव्य स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कोहलपुरको होटल सेन्टर प्लाजामा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्ष विद्यालयका संस्थापक एवं निर्देशक भक्तलाल भारतीको अध्यक्षतामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी पूर्वमन्त्री तथा विद्यालयकी प्रबन्ध निर्देशक आरती पौडेल , विशिष्ट अतिथिमा विद्यालय व्यवस्थापन समितिका सदस्य गंगा थापा, टिकाराम खाना, झुपल बिष्टलगायतका व्यक्तिहरू सहभागी थिए। विद्यालयका प्रधानाध्यापक विष्णु विक्रम शाहीको स्वागत मन्तव्यबाट कार्यक्रमको औपचारिक सुरुवात भयो।

त्यसपछि छात्र–छात्राले प्रस्तुत गरेको स्वागत गीतले सभागारको माहोल रंगिन बनायो। विद्यालयको ३१ वर्षको शैक्षिक यात्रा, उपलब्धि, अनुशासन, अतिरिक्त क्रियाकलाप र भावी योजनाबारे विस्तृत जानकारी दिइयो। प्रमुख अतिथिले प्रतिस्पर्धात्मक युगमा गुणस्तरीय शिक्षा, प्रविधि र नैतिक मूल्यको संयोजन अपरिहार्य भएको बताउँदै ग्रीन पिसले त्यस दिशामा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन्। उनले विद्यार्थीहरूलाई लक्ष्यप्रति दृढ रहन, समयको सही उपयोग गर्न र सिप विकासमा ध्यान दिन प्रेरणा दिइन्।

अध्यक्षले विद्यालय स्थापना कालदेखि अहिलेसम्मका चुनौती र सफलताको स्मरण गर्दै अनुशासनसहितको गुणस्तरीय शिक्षा नै भविष्यको आधार भएको उल्लेख गरे।

कार्यक्रमका कुशल उद्घोषक तपेन्द्र खनालले सम्पूर्ण कार्यक्रम  सत्रलाई आकर्षक ढंगले सञ्चालन गरे। विद्यार्थीहरूले विविध नृत्य, सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए, जसले उपस्थित सबैलाई रमाइलो माहोलमा ल्यायो। यी प्रस्तुतीहरूले विद्यार्थीहरूको प्रतिभा र आत्मविश्वास उजागर गरे।

अभिमुखीकरण सत्रमा नयाँ विद्यार्थीलाई विद्यालयको नियमावली, सिकाइ प्रक्रिया, अतिरिक्त क्रियाकलाप, प्राविधिक तालिम र अभिभावकको भूमिकाबारे विस्तृत जानकारी दिइयो। अभिभावकहरूले विद्यालयको पारदर्शी र परिणाममुखी शैक्षिक अभ्यासप्रति विश्वास व्यक्त गरे भने विद्यार्थीहरूले नयाँ शैक्षिक यात्रा सुरु गर्न पाउँदा उत्साह प्रकट गरे।

कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिकी सदस्य गोमा खनालले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरिन्। ३१ वर्षको शैक्षिक यात्रामा ग्रीन पिस सेकन्डरी स्कूलले कोहलपुर क्षेत्रमा गुणस्तरीय र समयसापेक्ष शिक्षाको उदाहरण प्रस्तुत गर्दै आएको छ। विद्यालयले यस पटकको स्वागत तथा अभिमुखीकरण कार्यक्रमलाई नयाँ शैक्षिक सत्रको प्रेरणादायी सुरुवातको रूपमा लिएको छ। 


प्रकाशित मिति: शुक्रवार, श्रावण ३१, २०८२, ०८:४०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार