स्थानीय

कोहलपुरमा परियार समुदायको गौरवमय कार्यक्रमको क्षण —सोही समुदायका एस.इ.ई. सफल विद्यार्थीलाई सम्मान।

Samayapati

 कोहलपुर – ‘हातमा हात, काँधमा काँध, अघि बढौं र बढाऔं’ भन्ने मूल नारालाई आत्मसात गर्दै कोहलपुरमा परियार मित्रता समाज बाँकेको आयोजनामा शैक्षिक सत्र २०८१ को एस.इ.ई. परीक्षामा सफल भएका परियार समुदायका विद्यार्थीलाई सम्मान गर्ने विशेष कार्यक्रम सोमबार कोहलपुरमा सम्पन्न गरियो।

शिक्षामा प्रोत्साहन र समुदायको उत्थानलाई लक्ष्य बनाएर आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र र सम्मान प्रदान गर्दै उनीहरूको मेहनत, संघर्ष र प्रतिबद्धतालाई प्रोत्साहन सहित प्रशंसा गरिएको हो।

कार्यक्रमका अध्यक्ष जिबन  शिह परियारको  सभापतित्वमा  प्रमुख अतिथि नि:बर्तमान कर्णाली प्रदेश प्रमुख तिलक परियारले पानसमा बत्ती बालेर  कार्यक्रमको औपचारिक रुपमा  उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि परियारले  पछाडि पारिएका दलित समुदायका बालबालिकाले अहिले शिक्षामा उत्कृष्ट प्रगति गर्न थालेको देखेर आफू गर्वित भएको बताए। उनले भने, “हामी एक समय अवसरबाट टाढा राखिएका थियौं, तर आज हाम्रा नानीबाबुहरूले पढाइमा नयाँ इतिहास रचेका छन्। यो केवल उनीहरूको व्यक्तिगत उपलब्धि मात्र होइन, हाम्रो सम्पूर्ण समुदायको जीत हो।” उनले शिक्षाको अवसरलाई सबैले समान रूपमा पाउनुपर्नेमा जोड दिँदै, उनीहरुलाई सम्मान सँगै आवश्यक सहयोग र मार्गदर्शन दिइनु जरुरी रहेको बताए।

विशिष्ट अतिथि भद्र परियारले हाम्रो समुदाय अब शिक्षामा पछाडि नपर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, “हामीले अब अज्ञानताको अन्धकार चिर्नुपर्छ, र त्यसका लागि शिक्षा नै सबैभन्दा ठूलो हतियार हो। यस्ता कार्यक्रमले युवा शक्तिहरुमा आत्मविश्वास, अभिभावकमा उत्साह र समुदायमा आशा जगाउँछन्।”

विशिष्ट अतिथि कोहलपुर  वडा नम्बर २ की  सदस्य शितला परियारले स्थानीय तहबाट शैक्षिक अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, विद्यार्थीलाई आफ्नो क्षमता र मेहनतमा विश्वास गर्न आग्रह गरिन्।

दलित सेवा संघका केन्द्रीय महासचिव कृष्ण ब. बिकेले समाजको विकासका लागि शिक्षित पुस्ता नै मूल आधार हुने उल्लेख गर्दै, “शिक्षित पुस्ता मात्रले समुदायलाई आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन सकिने कुरामा जोड दिए।,”  अतिथिहरु राष्ट्रिय दलित पत्रकार महासंघ बाँकेको का.बा.अध्यक्ष आशा परियार, घनाश्याम पौडेल, डिभिजन मधुबन बर्दियाका टेक बहादुर नेपाली , गुमान शिह परियार, लाली गुराँस पन्चेबाजाका अध्यक्ष गगने परियार, ओ.सि.डि.सी.का प्रतिनिधि दिल बहादुर परियार, धन बहादुर परियारलगायतले पनि यश कार्यक्रममा आफ्ना भनाइहरु शुभकामनाका साथै प्रेरणादायी सन्देश दिएका थिए।

परियार मित्रता समाज बाँकेका सल्लाहकार एबम करिब दुई दशकको पत्रकारिता अनुभव बोकेका तथा हाल शिक्षक पेशामा  क्रियाशील कबिन्द्र परियारले आफ्नो जीवनयात्रा भावुक हुँदै सुनाए। उनले भने, “आज म जुन स्थानमा छु, यो मेरो निरन्तरको मिहिनेत र बुवा–आमाको अथक त्यागको फल हो। स्वर्गीय बुवा र मेरो आमाले  आफ्ना सपनालाई रोक्दै, मेरो पढाइका लागि आकाश–पाताल एक पारिदिनु भयो। म शिक्षामा आएको प्रत्येक उपलब्धिलाई उनीहरूकै नाममा अर्पण गर्छु।” उनका शब्दहरूले उपस्थित धेरैको आँखामा चमक र हृदयमा स्पन्दन ल्याएको थियो।

अन्य अतिथिहरूको संयुक्त भनाइमा शिक्षा र एकताको महत्त्वलाई जोड दिइयो। उनीहरूले भने, “समाजको मुहार बदल्नका लागि शिक्षा, सीप र आपसी सहयोग अनिवार्य छन्। जबसम्म हामी एकअर्काको हात थामेर अघि बढ्दैनौं, तबसम्म हाम्रो लक्ष्य पूरा हुँदैन।” उनीहरूले विद्यार्थीलाई निरन्तर परिश्रम गर्न, अवसरको सदुपयोग गर्न र आफ्नो सीपलाई समाजको हितमा प्रयोग गर्न प्रेरित गरे। यस अवसरमा अभिभावक, शिक्षक, समाजसेवी, पत्रकार र स्थानीय समुदायको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो।आजको यो सम्मान कार्यक्रमले बालबालिकाको आत्मबल बढाउने मात्र नभई, अभिभावकहरूलाई पनि आफ्नो सन्तानलाई अझ राम्रो शिक्षा दिलाउन प्रेरणा दिने बताए।

सम्मानित विद्यार्थीहरूले आफूलाई पाइएको सम्मानलाई जिम्मेवारीका रूपमा लिने बताउँदै, भविष्यमा अझ राम्रो परिणाम ल्याउने संकल्प व्यक्त गरे। उनीहरूले यस्ता कार्यक्रमले आफ्नो अध्ययनमा नयाँ जोश थप्ने बताएका थिए।

आजको कार्यक्रमको सहजीकरण शान्ती सुनारले गरेकी थिइन् उक्त कार्यक्रममा विभिन्न रोचक नृत्य , गित, कबिता प्रस्तुत गरिएको थियो ।  अन्त्यमा कार्यक्रमका सभापति वा सस्थाका अध्यक्ष जीवन शिह परियारले समापन सत्रमा  सबै अतिथि, सहभागी र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, “शिक्षा नै हाम्रो सबल भविष्यको आधार हो। हामी सबै मिलेर हाम्रा बालबालिकालाई अझ राम्रो अवसर दिलाउन लागिपर्नुपर्छ। यही हाम्रो साझा प्रतिबद्धता हो।” कार्यक्रम केवल सम्मानको औपचारिकता मात्र नभई, सिङ्गो बाँकेको सामुदायिक एकता, प्रेरणा र भविष्यप्रतिको अटूट विश्वासको प्रतीकका रूपमा सम्झना रहिरहने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समपन गरेका थिए। 


प्रकाशित मिति: सोमवार, श्रावण २७, २०८२, ०४:१०:००
प्रतिक्रिया दिनुहोस्