स्थानीय

"कोहलपुर–नेपालगन्जको सडक खण्ड : मृत्युको लाइनमा यात्रु, सरकार र डिभिजन कार्यालयलाई माओवादीको अन्तिम चेतावनी"!

Samayapati

 कोहलपुर, २८ साउन — लामो समयदेखि जीर्ण बनेको कोहलपुर–नेपालगन्ज सडकखण्ड तत्काल मर्मत गर्न माग गर्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार सडकमै उभिएर खबरदारी गरेको छ।

हवल्दारपुरस्थित सडक खण्डमा पत्रकार सम्मेलन आयोजना गर्दै समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।

पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिका अध्यक्ष बलबहादुर खड्का (अबिरल) ले लामो समयदेखि सडक मर्मत नहुँदा सवारीसाधन मात्र होइन, पैदल यात्रुहरू समेत दैनिक जोखिममा परेको बताए। “सडक मर्मतका नाममा खनेर छाडिएका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम अत्यधिक बढेको छ,” उनले भने, “अब यो अवस्था सह्य छैन, तत्काल मर्मत कार्य सुरु गर्नुपर्छ।” खड्काले सडक मर्मत प्रक्रिया सुरु नगरेको खण्डमा सडक डिभिजन कार्यालय नेपालगन्जमा तालाबन्दी गर्ने चेतावनी समेत दिए। उनका अनुसार बारम्बारको माग र पत्राचारपछि पनि सडक सुधारमा कुनै प्रगति नभएकाले अब दबाबका कार्यक्रमहरू अघि सार्नुपर्ने भएको हो।

पत्रकार सम्मेलनमा विभिन्न  वक्ताहरूले कोहलपुर–नेपालगन्ज सडक खण्ड प्रदेश र मुलुककै महत्वपूर्ण यातायात मार्ग भएको भन्दै यसलाई जीर्ण अवस्थामा राख्नु प्रदेशको आर्थिक विकासमै बाधक बन्ने चेतावनी दिए। नियमित रूपमा हजारौं सवारीसाधन सञ्चालन हुने यो सडक यात्रुहरूको सुरक्षाको दृष्टिले पनि अत्यन्त संवेदनशील रहेको उनीहरूको भनाइ थियो।

स्थानीय बासिन्दा र व्यावसायिक समुदायका प्रतिनिधिहरूले सडकको बिग्रिएको अवस्थाले जनजीवन मात्र होइन, व्यवसायिक गतिविधिमा समेत नकारात्मक असर पारेको गुनासो गरे। दैनिक यात्रुहरू, विद्यार्थी र आपतकालीन स्वास्थ्य सेवामा संलग्न सवारीसाधन पनि सडकको दयनीय अवस्थाको मारमा परेको उनीहरूको भनाइ छ। कार्यक्रममा माओवादी केन्द्रका नगर सचिव, सदस्यहरू, विभिन्न टोल समितिका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले “जीर्ण सडक तत्काल मर्मत गर” भन्ने नारासहित प्रदर्शन पनि गरे। नगर समितिले निकट भविष्यमै सडक डिभिजन, प्रदेश सरकार र सम्बन्धित सरोकारवालाहरूसँग प्रत्यक्ष संवाद गर्दै मर्मत कार्य सुरु गराउने प्रतिबद्धता जनाएको छ। अन्तमा समापन गर्दै अध्यक्ष खड्काले भने, “हाम्रो यो खबरदारी पहिलो चरण हो, माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाइनेछ बताएका छन ।” 


प्रकाशित मिति: बुधवार, श्रावण २९, २०८२, ०७:४४:००
प्रतिक्रिया दिनुहोस्