स्थानीय

एनटिभि कोहलपुरको २९ औ वार्षिकोत्सवमा अग्रज नेतादेखि सञ्चारकर्मीको उत्साहपूर्ण सहभागिता।

Samayapati

 कोहलपुर, असार ३० — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताएका छन्।

एनटिभि कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाजमा अराजकता फैलाउने खालको पत्रकारिता नभई जनउत्तरदायी र तथ्यमा आधारित सूचनाको आवश्यकता औंल्याए। "स्वच्छन्दता र अफवाह फैलाउने प्रवृत्तिले समाजमा अस्थिरता ल्याउँछ," मुख्यमन्त्रीले भने, "त्यसैले सञ्चारले लोकतन्त्र सुदृढीकरणसँगै सुशासनमा टेवा पुर्‍याउनुपर्छ।" मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रसँग सरकार नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै सञ्चारकर्मीका लागि कल्याणकारी कोष, उपकरण विमा, छात्रवृत्ति र विद्युत महसुलमा सहुलियतको कार्यक्रम अगाडि बढाइएको जानकारी दिए।

उहाँले प्रदेश सरकारको लक्ष्य जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउनु रहेको बताउँदै यस यात्रामा सञ्चार क्षेत्रलाई सशक्त सहयात्रीको रूपमा हेर्ने धारणा राखे। कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले सञ्चार क्षेत्रलाई प्रदेश विकासको गतिशील साझेदारको रूपमा मूल्यांकन गर्दै एनटिभिलाई सञ्चार ब्राण्डको रूपमा स्थापित संस्थाको संज्ञा दिए। उनले आगामी वर्ष दोब्बर बजेट विनियोजन गरिएको जानकारीसमेत गराए। कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीहरू दुर्गाप्रसाद चौधरी, रत्न खत्री, भण्डारीलाल अहिर, सञ्जु चौधरी, अम्बिका काफ्ले, मिनाकुमारी श्रेष्ठ, कोहलपुर नगर प्रमुख पूर्ण आचार्य तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पनि शुभकामना मन्तव्य व्यक्त गरे।

सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा एनटिभि कोहलपुरका प्रमुख निराजन खनालले स्वागत मन्तव्य राखे। कार्यक्रमको सहजीकरण पुरुषोत्तम सापकोटाले गरेका थिए। सो अवसरमा उत्कृष्ट कर्मचारी, विज्ञापनदाता तथा कार्यक्रम सञ्चालकलाई सम्मान गरिएको थियो। 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२, ०४:२७:००
प्रतिक्रिया दिनुहोस्