प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।
स्थानीय
प्रतिबोध एफएमले मनायो १५औं वार्षिकोत्सव, आवाजको यात्रामा सहकार्यको प्रतिबद्धता।

कोहलपुर, असार २७ — दलित सेवा संघद्वारा सञ्चालित सामुदायिक रेडियो प्रतिबोध एफएम १०२.३ मेगाहर्जको १५औं वार्षिक उत्सव तथा स्थापना दिवस समारोह आज कोहलपुर–१०, विद्यानगरमा भव्य रूपमा सम्पन्न भएको छ।
सामुदायिक सञ्चारको धरोहरको रूपमा स्थापित यो एफएमले १५ वर्षे यात्रालाई आज समर्पण, सम्मानका साथ उत्साहजनक तरिकाले मनाएको हो।
२०६७ सालमा स्थापना भई सानो प्रयासका रूपमा सुरु भएको प्रतिबोध एफएम दलित, महिला, जनजाति, अल्पसंख्यक, ग्रामीण तथा शोषित समुदायहरूको"आवाजविहीनका लागि आवाज" भन्ने मूल मर्म बोकेको यो रेडियोले समाजमा चेतना, सहभागिता र परिवर्तनको बीउ छर्दै अधिकार, अवसर र आत्मविश्वासका कथा बोकेको यो एफएमले हरेक घरमा चेतना पुर्याउने प्रयास गर्दै आएको छ।
कार्यक्रमको अध्यक्ष शिवकुमार सुनारको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यको गरिमामय उपस्थितिमा केक काटेर वार्षिकोत्सवको औपचारिक रुपमा उद्घाटन गरिएको थियो। उद्घाटन सत्रमा बोल्दै नगर प्रमुख आचार्यले रेडियो प्रतिबोधलाई केवल एउटा प्रसारण केन्द्र नभई, सामाजिक न्यायको बलियो मञ्चको रूपमा व्याख्या गरे। “आजको युग सूचना र संचारको हो, तर सबैको पहुँचमा छैन। यस्तो अवस्थामा प्रतिबोध एफएमजस्तो सामुदायिक रेडियोले समाजमा आवाज पुग्न नसकेकाहरूका कुरा बोलिदिएको छ,” उनले भने सञ्चारकर्मीको परिश्रम, जोखिम र निष्पक्षताप्रति उच्च सम्मान प्रकट गर्दै भने, “मैले विगतमा पनि रेडियोलाई साथ दिएको छु, अब नगरपालिकाको नीतिगत प्राथमिकतामा सामुदायिक रेडियो प्रतिबोध एफएम सञ्चार रहनेछ भन्ने प्रतिबद्धता जाहेर गरेका छन।”
कार्यक्रममा विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक ईश्वरप्रसाद विश्वकर्माले भने, “रेडियो प्रतिबोध सामाजिक समावेशीकरणको अभ्यास गर्ने संस्थान हो। यसले गरिब, दलित र ग्रामीणको पीडा समाजसामु ल्याउने काम गर्दै आएको छ। हामी यस्तो संस्थासँग सहकार्य गर्न गर्व गर्छौं।” दलित सेवा संघ नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर बिकले प्रतिबोध एफएमलाई दलित आन्दोलनसँग जोडिएको एक निश्चल आवाजको प्रतीकका रूपमा व्याख्या गरे। उनले भने, “हामी सडकमा हिँड्थ्यौं, नाराबाजी गर्थ्यौं—तर आवाज सिमित हुन्थ्यो। एफएम स्थापना भएपछिको दिनदेखि हामी आफ्ना कुरा घरघरमा सुनाउन सक्षम भयौं।”
दलित सेवासँग बाँकेका अध्यक्ष बुद्धबहादुर सुनालले सामुदायिक सञ्चारको मूल मन्त्र नै प्रतिबोधले जीवीत राखेको बताए। कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्रनाथ योगीले पनि आफ्ना गहकिला भनाइ राखेका थिए । कार्यपालिका सदस्यहरू भूपराज दर्जी र सुनिता सुनार, वडा नं. १३ की रूपकली बिक, विद्यालयनगर टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष सङ्गीन शर्मा, सहसचिव रविन्द्रसिंह ठकुरी, सन्चारिका समूहकी अध्यक्ष पवित्रा परियार, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य कुशल दलामी, प्रतिबोध एफएमकी कोषाध्यक्ष तथा सङ्घर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक तुलसी सुनारलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालक जिम्मेवारी एफएमका स्टेशन म्यानेजर हेमन्त बी.के.ले सम्हालेका थिए। उनले एफएमको १५ वर्षे यात्रा, कार्यक्रमहरू, उपलब्धिहरू र भविष्य योजनाको जीवन्त चित्रण गर्दै अतिथि तथा सहभागिहरूलाई भावनात्मक रूपमा जोड्न सफल भएका थिए । अन्त्यमा समापन मन्तव्य दिँदै अध्यक्ष शिवकुमार सुनारले भने, “यो केवल एफएम होइन, यो हाम्रा हरेक चोट, चेत र चाहनाको ध्वनि हो। हामी बोलेका छौं, ताकि भोलिका पुस्ताहरू चुप बस्न नपरोस्।” उनले आगामी दिनमा अझ व्यापक सहभागीता, जिम्मेवार पत्रकारिता र समुदायमैत्री सामग्री निर्माण गर्ने अठोटसमेत व्यक्त गरे।
कार्यक्रममा स्थानीय समाजसेबी , महिला पत्रकार तथा नागरिक समाजको उल्लेखनीय उपस्थिति देखिएको थियो। प्रतिबोध एफएमको १५ वर्षे संघर्षमय यात्राले फेरि एक पटक समुदायभित्र आशा, आत्मीयता र अभिमान जगाएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!