स्थानीय

सुनचाँदीमा विलासिता करको असरबारे कोहलपुरमा अन्तरक्रिया, व्यवसायी–उपभोक्ता दुवै चिन्तित।

Samayapati

कोहलपुर, असार १९ — सरकारले सुनचाँदी तथा बहुमूल्य रत्नहरूमा लागू गरेको विलासिता कर र मूल्य अभिवृद्धि करका कारण व्यवसायी मात्र नभई उपभोक्तासमेत मारमा परेकाले बाँकेको कोहलपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम सुनचाँदी तथा गहना व्यवसायी संघको संयुक्त आयोजनामा 'न्यायको लागि सुनचाँदी व्यवसायी, कालीगढ र उपभोक्ताहरूको साझा आवाज' नारासहित अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कार्यक्रमका अध्यक्ष तथा संयुक्त आन्दोलन परिचालन समितिका संयोजक जगत रामदामको अध्यक्षतामा  कार्यक्रमका प्रमुख अतिथि, बाँके क्षेत्र नं. १ का संघीय सांसद सूर्य ढकालले ब्यानर पढेर उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि ढकालले सुनचाँदी व्यवसायीको माग जायज भएको र संसदमार्फत सरकारसँग गम्भीर रूपमा ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए। उनले भने, "राजस्व सङ्कलनको नाममा गरिब जनतालाई असर पार्ने नीति दीर्घकालीन रूपमा आत्मघाती बन्न सक्छ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारीले सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिराजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि करले सामाजिक र आर्थिक असमानता बढाउने खतरा औंल्याइन्।

कार्यक्रममा अतिथिका रूपमा सहभागी भएका नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी प्रदेश अध्यक्ष देवीलाल सुनार, मध्य तथा सुदूरपश्चिम संघका अध्यक्ष मानबहादुर सुनार, सुनचाँदी व्यावसायी संघका अगुवा नेता बालकृृृष्ण दियाली, प्रदेश कोषाध्यक्ष परिवर्तन विश्वकर्मा लगायतले ब्राण्ड प्रतिष्ठा हराउने, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पछि पर्ने र आम्दानी घट्ने चिन्ता व्यक्त गरे।

त्यस्तै, नेपाली कांग्रेस बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी बाँके सचिव राजेन्द्रकुमार श्रेष्ठ, एमाले कोहलपुर नगर अध्यक्ष कुलबहादुर भट्टराई, माओवादी केन्द्र कोहलपुर नगर अध्यक्ष बलबहादुर खड्का, राप्रपाका अर्जुन जंग शाह, जनमोर्चाका तिलकराज पौडेलले व्यवसायीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै राज्यले व्यवसाय अनुकूल नीति ल्याउनुपर्ने धारणा राखे।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले व्यवसायीहरू निरन्तर दबाबमा रहँदा उद्योग धरासायी हुने र स्थानीय रोजगारीमा असर पर्ने भन्दै राज्यको नीति पुनरावलोकनको माग गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले सुन तथा सुनजडित गहनामा लगाइएको २ प्रतिशत विलासिता कर तुरुन्त खारेज गर्न र हिरा, जवाहरत तथा बहुमूल्य रत्नजडित गहनामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) फिर्ता लिन सरकारलाई आग्रह गरे। उनीहरूले भने, “यस खालका करले बजारमा अस्थिरता, व्यवसायमा घाटा, उपभोक्तामा निराशा र राज्यकै राजस्व सङ्कलनमा गिरावट ल्याउने सम्भावना बढेको छ।”

कार्यक्रमको सञ्चालन बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका महासचिव भरतकुमार विश्वकर्माले गरेका थिए भने समापन मन्तव्यमा कार्यक्रममा सहभागी सम्पुर्णलाई धन्यवाद दिदै  अध्यक्ष जगतराम दामले समापन गरेका थिए। कार्यक्रममा सुनचाँदी व्यवसायी, कालीगढ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 


प्रकाशित मिति: शुक्रवार, असार २०, २०८२, ०३:५८:००
प्रतिक्रिया दिनुहोस्