स्थानीय

शिक्षामा सघाउँदै एनएमबि बैंक कोहलपुरले: चौधरियामा रहेको बिद्यालयलाई पंखा र फिल्टर वितरण।

Samayapati

कोहलपुर , असार २५ — कोहलपुर १५ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयलाई एनएमबि बैंक कोहलपुरले सामुदायिक विद्यालयमा सिकाइमैत्री वातावरण सिर्जना गर्न उल्लेखनीय सहयोग प्रदान गरेको छ।

कोहलपुर–१५ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चौधरियालाई बैंकले १५ थान पंखा र एक थान तातो तथा चिसो पानी आउने फिल्टर मेसिन सहयोग गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वनाथ थारुले विद्यालयप्रति देखाइएको सहयोगका लागि एनएमबि बैंकप्रति आभार व्यक्त गरे। “सामुदायिक विद्यालयमा निजी क्षेत्रको यस्तो सहयोग उदाहरणीय छ,” उनले भने, “यसले विद्यार्थीहरूको सिकाइमा थप सहजता ल्याउनेछ।” सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतराम थारुले एनएमबि बैंकप्रति धन्यवाद दिँदै विद्यालयको पूर्वाधार विकासमा थप सहयोगको अपेक्षा व्यक्त गरे। “शिक्षामा लगानी सधैं मूल्यवान् हुन्छ,” अध्यक्ष थारुले भने, “बैंकको यो पहलले विद्यार्थीको हितमा सकारात्मक प्रभाव पार्नेछ।”

एनएमबि बैंक कोहलपुर शाखाका ब्रान्च म्यानेजर खगेन्द्र शिह भाटले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई आवश्यक सामग्री सहयोग गरिएको बताए। “शिक्षा र समुदायप्रति उत्तरदायी बन्ने उद्देश्यले यस्ता गतिविधिमा हामी निरन्तर सहभागी हुँदै आएका छौं,” भाटले स्पष्ट पारे।

शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालय परिवारले बैंकको प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको थियो। 


प्रकाशित मिति: बुधवार, असार २५, २०८२, १२:५९:००
प्रतिक्रिया दिनुहोस्