स्थानीय

साइकोसोसियल सपोर्टबारे कुशे–६ का शिक्षकलाई दुई दिने तालिम सम्पन्न!

Samayapati

जाजरकोट जिल्लामा २०७९ कार्तिक १८ गते आएको विनाशकारी भूकम्पले प्रभावित समुदायको पुनःस्थापनामा टेवा पुर्‍याउने उद्देश्यले कुशे गाउँपालिका वडा नं ६ का सम्पूर्ण विद्यालयका शिक्षक–शिक्षिकाका लागि दुई दिने विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ।

एसिया संस्थाको आर्थिक सहयोगमा इन्टग्रेटेड कम्युनिटी हेल्थ सपोर्ट प्रोजेक्ट, “कम्युनिटी एफेक्टेड बाइ द जाजरकोट इन नेपाल हेल्थ सपोर्ट प्रोजेक्ट” अन्तर्गत कुशे गाउँपालिकाको सभाहलमा मिति २०८२ साल ९ महिना २२ र २३ गते कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यालय तहबाटै बालबालिका तथा अभिभावकलाई साइकोसोसियल सपोर्ट सेवा प्रदान गर्ने, मानसिक स्वास्थ्यको महत्व बुझाउने र भूकम्पपछिको त्रास न्यूनीकरणमा शिक्षकको भूमिका सशक्त बनाउने रहेको आयोजकले जनाएको छ। “ट्रेनिङ अन द प्रोभिजन अफ साइकोसोसियल सपोर्ट सर्भिस एन्ड द इम्पोर्टेन्स अफ साइकल हेल्थ फर टिचर्स” शीर्षकमा सञ्चालित तालिममा सहभागीले कक्षाकोठामा देखिने मनोवैज्ञानिक समस्या पहिचान, परामर्श विधि, सकारात्मक सिकाइ वातावरण र आपत्कालीन अवस्थामा अपनाउनुपर्ने व्यवहारिक सीपबारे गहन छलफल गरेका थिए।

आजको  कार्यक्रम कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न भयो। अध्यक्ष बस्नेतले समापन सत्रमा बोल्दै विद्यालय समाजको केन्द्र भएकाले शिक्षक मानसिक स्वास्थ्य प्रवर्द्धनका पहिलो अभियन्ता भएको उल्लेख गरे। उनले भने, “भूकम्पले भत्काएका संरचना जस्तै मानिसको मन पनि चिरिएको छ, त्यो मन जोड्ने काम शिक्षकबाट सुरु हुनुपर्छ। यस्ता तालिमले हाम्रो स्थानीय शिक्षा प्रणालीलाई अझ संवेदनशील र जिम्मेवार बनाउनेछ।” गाउँपालिकाले आगामी दिनमा पनि मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

उपाध्यक्ष देविका कुमारी शाहीले तालिम उपयोगी र समयसापेक्ष भएको बताइन्। शाहीले भनिन्, “बालबालिकामा देखिने तनाव, एक्लोपन र डरलाई बुझ्ने आँखा विकास गर्नु आजको आवश्यकता हो। शिक्षक सुरक्षित भए विद्यार्थी सुरक्षित हुन्छन्।” उनले अन्तर्राष्ट्रिय सहयोगी निकायको साथले कुशे गाउँपालिकामा नयाँ ज्ञान भित्रिएको भन्दै धन्यवाद दिइन्। तालिमबारे जानकारी दिँदै **हेल्थ सुपरभाइजर चन्दलाल बि.क.**ले कार्यक्रममा २६ जना शिक्षकको सहभागिता रहेको र दुई दिनसम्म विभिन्न सत्र, समूहकार्य तथा अनुभव आदान–प्रदान गरिएको बताए। उनले भने, “साइकोसोसियल सपोर्टलाई शैक्षिक गतिविधिसँग जोड्न सके मात्र परियोजनाको लक्ष्य पूरा हुन्छ।” भूकम्प प्रभावित क्षेत्रमा शिक्षकमार्फत समुदायसम्म सेवा विस्तार गर्ने योजनाका साथ कार्यक्रम गरिएको उनको भनाइ थियो। तालिममा गाउँपालिकाका शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा स्थानीय सरोकारवालाको उत्साहजनक उपस्थिति देखियो।

सहभागी शिक्षकले प्राप्त सीप व्यवहारमा उतार्ने, विद्यार्थी केन्द्रित परामर्श समूह गठन गर्ने र आवश्यकता परे स्वास्थ्य इकाइसँग समन्वय गर्ने निर्णयसमेत गरेका छन्। आयोजकले परियोजनाको छोटो परिचय प्रस्तुत गर्दै कुशे गाउँपालिकामा मानसिक तथा शारीरिक स्वास्थ्य सुदृढीकरण नै कार्यक्रमको दीर्घकालीन उद्देश्य भएको जनाएको छ। 


प्रकाशित मिति: बुधवार, पुष २३, २०८२, ०३:०१:००
प्रतिक्रिया दिनुहोस्