स्थानीय

३ हजारलाई उछिन्दै टप–१० मा जाजरकोटकी छोरी चेली सुमी, अब भोटको अपिल’ गर्दै !

Samayapati

 जाजरकोट भेरी नगरपालिका–४ की सुमी खड्का राष्ट्रिय स्तरको चर्चित भाषणकला रियालिटी शो ‘द स्पिकिङ टाइटन’ को उत्कृष्ट–१० मा स्थान बनाउन सफल भएकी छन्।

देशभरबाट सहभागी ३ हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उनी यहाँसम्म आइपुगेकी हुन्।

दामी मिडियाको प्रस्तुति रहेको यो रियालिटी शो OSR Reality युट्युब च्यानल र AP1 HD टेलिभिजन मार्फत हरेक सोमबार र मंगलबार राति ९ बजे प्रसारण हुँदै आएको छ। विचार, प्रस्तुति र अभिव्यक्ति क्षमतालाई मापन गर्ने यस कार्यक्रममा प्रमुख निर्णायकका रूपमा सञ्चारकर्मी दिल भूषण पाठक, पूर्व मिस नेपाल माल्भिका सुब्बा र ECAN अध्यक्ष शेषराज भट्ट छन् भने कार्यक्रमको होस्ट प्रेरक वक्ता सौनक भट्ट रहेका छन्।

सुमीले डिजिटल अडिसनदेखि फिजिकल अडिसन, सर्भाइभल स्टेज र कठिन प्रतिस्पर्धात्मक चरणहरू पार गर्दै क्रमशः टप–५०, टप–३०, टप–२०, टप–१५ हुँदै अहिले टप–१० मा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। उल्लेखनीय कुरा के छ भने, उनी कर्णाली प्रदेशबाट टप–१० मा पुग्ने एक्ली प्रतियोगी हुन्। राष्ट्रिय मञ्चमा कर्णालीको प्रतिनिधित्व गर्दै अघि बढिरहेकी उनको यात्राले स्थानीयस्तरमा उत्साह थपेको छ। आफूलाई उत्कृष्ट–५ सम्म पुर्‍याउन सबैको साथ आवश्यक रहेको बताउँदै सुमीले कर्णालीबासीसहित सम्पूर्ण शुभेच्छुकलाई भोट गर्न आग्रह गरेकी छन्।

उनलाई Aventoz App, eSewa, Khalti वा Direct QR मार्फत भोट गर्न सकिनेछ। भोटिङ सोमबार राति ९ बजेदेखि बिहीबार दिउँसो २ बजेसम्म खुला रहने जनाइएको छ। जाजरकोटकी छोरी सुमी खड्काको यो सफलता कर्णालीका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।


प्रकाशित मिति: शनिवार, पुष ५, २०८२, १०:००:००
प्रतिक्रिया दिनुहोस्