स्थानीय

बाँकेको कोहलपुरमा रहेको भेरी शीत भण्डार सहकारीको १६औं साधारण सभा सम्पन्न !

Samayapati

 बाँकेको कोहलपुरमा भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

सहकारीले विगत वर्षका गतिविधि, आर्थिक विवरण, आगामी योजनाहरू तथा संस्थाको उद्देश्यबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै सभाको समापन गरेको हो।

सभामा संस्थाका अध्यक्ष बलराम भट्टराईको अध्यक्षता रहेको  कार्यक्रममा प्रारम्भमै सहकारीले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्मको यात्रा र सहकारी स्थापनाको मूल उद्देश्य पुनःस्मरण गराइएको थियो।

संस्थाले कृषि उत्पादन सुरक्षित भण्डारण, किसानलाई समयमै सेवा उपलब्ध गराउने, स्थानीय उत्पादनलाई बजारसम्म सहज पहुँच दिलाउने तथा किसान–उपभोक्ता दुवैको हितमा पारदर्शी सेवा प्रवाह गर्ने उद्देश्य दोहोर्‍याएको थियो।

आर्थिक प्रतिवेदन सार्वजनिक अध्यक्ष भट्टराईले आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल बजेट २ करोड ९६ लाख ७३ हजार ४ सय २३ रुपैयाँ ७९ पैसा रहेको जानकारी गराए। सहकारीले गत वर्ष सञ्चालन गर्दा कुल कारोबार १ करोड ५८ लाख ३ हजार रुपैयाँ पुगेको बताइएको छ। त्यसमध्ये कुल खर्च १ करोड १५ लाख २० हजार रुपैयाँ रहेको छ। खर्च कटौतीपछि सहकारीले ४२ लाख ८३ हजार रुपैयाँ बचत गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अध्यक्ष भट्टराईले सहकारीले विगत वर्ष आर्थिक अनुशासन, पारदर्शिता र जिम्मेवारीसहित सञ्चालन भएको भन्दै सदस्यहरूको विश्वासले सहकारीलाई थप सुदृढ बनाएको टिप्पणी गरे। उनले सहकारीले आगामी वर्ष अझ प्रभावकारी कार्यक्रम ल्याई किसानलाई आधुनिक सेवा, भण्डारण क्षमताको विस्तार तथा व्यवस्थापन सुधारमा जोड दिने बताए।

अतिथि तथा सदस्यहरूको सुझाव सभामा उपस्थित सदस्य तथा आमन्त्रित अतिथिहरूले सहकारीको प्रगति र कार्यदिशामाथि आफ्ना सुझाव र धारणा व्यक्त गरे। उनीहरूका अनुसार सहकारीले स्थानीय किसानका लागि शीतभण्डारणको पहुँच सहज बनाउँदै तरकारी, फलफूल तथा अन्य कृषि उपजहरूको संरक्षणमा ठूलो योगदान पुर्‍याएको छ।

केही सदस्यले सेवाको गुणस्तर अझ उकास्न, किसानमैत्री योजना थप गर्न तथा सहकारीको पहुँच ग्रामीण पकेट क्षेत्रसम्म विस्तार गर्न सुझाव दिए। अतिथिहरूले सहकारीहरूले पारदर्शिता, राम्रो प्रशासनिक व्यवस्था र समयमै सेवा प्रवाह गर्न सकेमा स्थानीय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। सहकारीलाई आधुनिक प्रविधि प्रयोग गर्दै सेवा विस्तार गर्न र आर्थिक परिचालन अझ व्यवस्थित बनाउन पनि सुझावहरू आए। आगामी वर्षका प्राथमिकताहरू सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले आगामी वर्ष शीतभण्डारको क्षमता विस्तार, नयाँ उपकरण जडान, बजार समन्वय मजबूतगर्ने तथा किसानलाई सुलभ ऋण–सुविधा उपलब्ध गराउनेजस्ता कार्यक्रमलाई प्राथमिकता दिने योजना बनाएको छ। सहकारीले सदस्यहरूका क्षमता विकासका लागि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको छ।

सभाको समापन अन्त्यमा अध्यक्ष भट्टराईले सबै सदस्यप्रति आभार व्यक्त गर्दै सहकारीले सेवाको दायरा विस्तार गर्दै किसानको उत्पादनलाई सुरक्षित रूपमा भण्डारण, संरक्षण तथा बजार व्यवस्थापनमा सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। उनाले सहकारीलाई अझ सक्षम र भरपर्दो संस्थाका रूपमा विकास गर्न सबैको निरन्तर साथ आवश्यक रहेको बताए।


प्रकाशित मिति: बिहिवार, मंसिर ५, २०८२, ०३:४७:००
प्रतिक्रिया दिनुहोस्