कोहलपुर–१० चटारस्थित बागेश्वरी एकेडेमीको १९औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न!
स्थानीय
कोहलपुर–१० चटारस्थित बागेश्वरी एकेडेमीको १९औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न!

बाँकेको कोहलपुर नगरपालिका–१०, चटारस्थित बागेश्वरी एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयको १९औँ अभिभावक दिवस २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीच आपसी सम्बन्ध सुदृढ गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
विद्यालयका संस्थापक अध्यक्ष किशन गुरुङको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका उपमेयर संगीता सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी हुन्। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सुवेदीले अभिभावक र विद्यालयबीचको सहकार्य बिना बालबालिकाको सर्वाङ्गीण विकास सम्भव नहुने बताइन्। उनले विद्यालयले पठनपाठनसँगै अनुशासन, नैतिक शिक्षा र व्यवहारिक सीपमा ध्यान दिनु आजको आवश्यकता रहेको उल्लेख गरिन्। साथै, अभिभावकले पनि विद्यालयसँग नियमित संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिका शिक्षा अधिकृत रविलाल मिजारले विद्यालयको शैक्षिक प्रगति अभिभावकको सक्रिय सहभागितासँग जोडिएको बताए। उनले अभिभावक दिवस जस्ता कार्यक्रमले विद्यालयप्रति अभिभावकको विश्वास बढाउने र विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने धारणा राखे। गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षक, अभिभावक र व्यवस्थापनबीच सुदृढ समन्वय आवश्यक रहेको उनले बताए।
कार्यक्रममा राष्ट्रिय कलाकार सपना शाहीले प्रस्तुत गरेको मिठो गीतले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो। उनका गीतमा विद्यार्थी, अभिभावक तथा अतिथिहरू उत्साहित हुँदै सहभागी भएका थिए। नृत्य शिक्षक गणेश बिष्टको संयोजनमा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्यहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमकै क्रममा शैक्षिक, खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, विद्यालयको शैक्षिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने अभिभावकहरूलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रममा ९० जना शिक्षक, शिक्षिका तथा कर्मचारी र १४०० विद्यार्थीका सम्पूर्ण अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभिभावकहरूले विद्यालयले बालबालिकाको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने कार्य प्रशंसनीय रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक अध्यक्ष किशन गुरुङले विद्यालयको निरन्तर प्रगतिमा अभिभावक, शिक्षक र कर्मचारीको भूमिका महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा पनि यस्तै कार्यक्रममार्फत विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








