स्थानीय

कुशेकी उपाध्यक्ष देविका सिंह ‘शी लिड्स आइकन’को टप–६ मा भोटमार्फत सहयोग गर्न आग्रह!

Samayapati

जाजरकोटको - कुशे गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंह देशभरका उत्कृष्ट महिला जनप्रतिनिधि मध्ये छानिएको ‘शी लिड्स आइकन’ प्रतियोगितामा टप–६ मा स्थान बनाउन सफल भएकी छन्।

देशभरका ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरूमध्ये सिंहले आफ्नो योगदान र नेतृत्व क्षमताका आधारमा उत्कृष्ट सूचीमा नाम राखिएको हो।

गत शनिबार आयोजक समितिले देशका १३१ स्थानीय तहका महिला जनप्रतिनिधिमध्ये छनोट गर्दै ३१ जनाको नाम सार्वजनिक गरेको थियो। प्रदेशगत आधारमा कोशी प्रदेशबाट ४, मधेश ५, बागमती ५, गण्डकी ४, लुम्बिनी ४, कर्णाली ४ र सुदूरपश्चिम ५ गरी जम्मा ३१ जनाको सूची सार्वजनिक गरिएको हो। तीमध्ये ७ जना प्रमुख र २४ जना उपप्रमुख छन्। त्यसमध्ये सिंहलाई प्रेरणादायी महिला जनप्रतिनिधिको ६औँ स्थानमा राखिएको छ।

जाजरकोटमा जिल्लाको मध्यम वर्गीय परिवारमा जन्मेकी सिंहले राजनीतिमा प्रवेश गर्नु अघि करिब १२ वर्ष शिक्षण पेशामा बिताएकी थिइन्। शिक्षा क्षेत्रमै सक्रिय रहँदै उनले २०७४ सालमा कुशे गाउँपालिका–९ वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै त्यहीबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी थिइन्।

आयोजकका अनुसार  छनोट भएका ३१ मध्ये ७ जनालाई ‘आइकन’को रूपमा विशेष सम्मान प्रदान गरिनेछ। यसका लागि अहिले भोटिङ प्रक्रिया सञ्चालनमा छ। राष्ट्रियस्तरमा ई–सेवामार्फत ‘शी लिड्स एप्लिकेसन’ प्रयोग गरी भोट दिन सकिनेछ भने अन्तर्राष्ट्रिय स्तरमा https://voting.mypay.com.np/ मा लगइन गरी भोट दिन सकिने व्यवस्था गरिएको छ।

महिला स्वास्थ्य, उद्यमशीलता, नीति र न्याय, जवाफदेहिता जस्ता सूचकलाई आधार मानेर यो प्रतियोगिता सञ्चालन भएको आयोजकले जनाएको छ। सिंहले यस अभियानलाई अझ प्रभावकारी बनाउन देश तथा विदेशमा रहेका सबैलाई भोटमार्फत सहयोग गर्न आग्रह गरेकी छिन्।


प्रकाशित मिति: सोमवार, भदौ २, २०८२, १२:३२:००
प्रतिक्रिया दिनुहोस्