स्थानीय

बाँकेको बैजनाथ–१ स्थित श्री सूर्योदय माध्यमिक विद्यालयमा अभिभावक भेला तथा नयाँ व्यवस्थापन समिति चयन!

Samayapati

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ मा अवस्थित श्री सूर्योदय माध्यमिक विद्यालयले अभिभावक भेला–२०८२ तथा नयाँ व्यवस्थापन समिति चयन गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयका प्रधानाध्यापक दिपक बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैजनाथ–१ का वडा अध्यक्ष तथा प्रमुख अतिथि रुपबहादुर मल्लले औपचारिक रूपमा उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि मल्लले विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा अभिभावक, शिक्षक र व्यवस्थापन समितिको संयुक्त भूमिकालाई अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले विद्यालयलाई गाउँपालिकाको उत्कृष्ट केन्द्र बनाउने लक्ष्यले सबैको सक्रियता आवश्यक रहेको भन्दै सदैव सहयोग रहने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा विशिष्ट अतिथि बैजनाथ गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख विष्णुप्रसाद ढकालले विद्यालयहरूमा व्यवस्थापन समिति परिवर्तनसँगै शैक्षिक सुधारका नयाँ योजनाहरू अघि बढाउनुपर्नेमा जोड दिए। उनले विद्यालय व्यवस्थापन, शैक्षिक योजना, वातावरण र शिक्षक अभिप्रेरणालाई सुदृढ बनाउन अभिभावकको सहकार्य अपरिहार्य रहेको बताए।

त्यसैगरी निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बुढाले आफ्नो कार्यकालमा विद्यालयमा भएका उपलब्धिहरू, चुनौतीहरू र आगामी समितिले निरन्तरता दिनुपर्ने प्राथमिकताहरूबारे प्रकाश पारे। उनले विद्यालयले गाउँमा स्थापित विश्वासलाई अझ सुदृढ बनाउन अभिभावकको निरन्तर साथ आवश्यक रहेको बताए।

कार्यक्रमका  अतिथि नन्दवीर शाही, धनवक्ता बुढा, चन्दबहादुर सुनार, मन्जन शाही, अमरजंग हमाल, साथै इलाका प्रहरी कार्यालय चिसापानीका प्रतिनिधि कुमार सिंहलगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति उल्लेखनीय थियो। विद्यालयका सम्पूर्ण शिक्षक–कर्मचारी, अभिभावकज्यूहरू र विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेकाले कार्यक्रम अत्यधिक उत्साहजनक बनेको थियो।

कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक प्रेम शाहीले गरेका थिए। उनले अभिभावक भेलाले विद्यालय–अभिभावक सम्बन्ध अझ प्रगाढ बनाउने र व्यवस्थापन प्रणालीलाई अद्यावधिक गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए।

कार्यक्रमको अन्तिम सत्रमा विद्यालयका प्रधानाध्यापक दीपक बहादुर शाहीले समापनको घोषणा गर्दै नयाँ व्यवस्थापन समिति गठन प्रक्रियाको खाका प्रस्तुत गरे। उनले लोकतान्त्रिक विधिबाट समिति गठन गर्न अभिभावक, शिक्षक तथा सरोकारवालाको सुझावलाई आधार बनाइने जानकारी दिए। विद्यालयको शैक्षिक स्तर उकास्न, पूर्वाधार विकास, खेलकुद प्रवर्द्धन तथा विद्यार्थी–केन्द्रित कार्यक्रमहरू सञ्चालनलाई नयाँ समितिले प्राथमिकता दिने उनको भनाइ थियो। संपूर्ण सहभागिताले विद्यालयलाई अझ सक्षम, अनुशासित र प्रतिस्पर्धी शैक्षिक केन्द्रका रूपमा अघि बढाउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।


प्रकाशित मिति: शुक्रवार, मंसिर १३, २०८२, ०५:१६:००
प्रतिक्रिया दिनुहोस्