कोहलपुर नगरपालिकाको साथ, विपन्न बर्गका लागि अब घरको सपना पुरा हुने।
स्थानीय
कोहलपुर नगरपालिकाको साथ, विपन्न बर्गका लागि अब घरको सपना पुरा हुने।

कोहलपुर साउन १४ – कोहलपुर नगरपालिकाले नगरका विपन्न तथा अति विपन्न नागरिकहरूको लागि एक लाख रुपैयाँसम्मको आवास ऋण सहायता प्रदान गर्ने भएको छ।
लुमन्ती र एनएमबी बैंकको सहकार्यमा सञ्चालित ‘आवास निर्माण कार्यक्रम’ मार्फत यो सुविधा उपलब्ध गराइने भएको हो।
घरविहीन, जीर्ण घरमा बस्दै आएका वा आर्थिक कठिनाइका कारण मर्मत गर्न नसक्ने नगरवासीहरूलाई लक्षित गरी कार्यक्रम ल्याइएको समयपाटीलाई जनाइएको छ। नयाँ घर निर्माण वा मर्मतका लागि ऋण आवश्यक परेमा लाभग्राहीले एनएमबी बैंकबाट अधिकतम एक लाख रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्नेछन्। नगर कार्यपालिकाले वडानम्बर १ देखि १५ सम्मका सबै वडाध्यक्षलाई औपचारिक जानकारी गराइसकेको छ। ऋणको अवधि अधिकतम ७ वर्षको हुनेछ र वार्षिक ब्याजदर ८.५ प्रतिशत कायम गरिएको छ। समयमै किस्ता तिर्नेले सात वर्षसम्म यही ब्याजदरमा सुविधा पाउनेछन्।
कार्यक्रमको उद्देश्य साना आम्दानी भएका परिवारलाई स्वाभिमानसाथ बस्न सक्ने वातावरण बनाउनु हो। सामाजिक समावेशीता, समानता र मानव अधिकारप्रति प्रतिबद्ध रहँदै नगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको हो। ऋणका लागि इच्छुक सेवाग्राहीले टोल विकास संस्था तथा वडा कार्यालयको सिफारिस, नागरिकता, लालपुर्जा, घर निर्माणको नक्सा, फोटोसहित निवेदन दिनुपर्नेछ। निवेदन दिने अन्तिम मिति २०८२ साउन मसान्तसम्म तोकिएको छ।
नगर प्रमुख पूर्ण प्रसाद आचार्य र प्रशासकीय अधिकृत मानबहादुर गिरीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “वास्तवमै आवश्यक पर्ने व्यक्तिहरूले समयमै आवेदन दिनु अत्यन्त जरुरी छ।”
नगर प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत गिरीले यस्तो कार्यक्रमले नगरभित्रका विपन्न समुदायको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरेका छन्। शिक्षा, स्वास्थ्य र सुरक्षित बासस्थानबाट वञ्चित रहेका परिवारहरूलाई लक्षित गर्दै ल्याइएको यो योजना दीर्घकालीन राहत बन्ने नगर उपप्रमुख संगिता सुबेदीले व्यक्त गरेकी छन। साथै कोहलपुर नगरपालिकाको अपेक्षा पनि यहि रहेको जनाइएको छ।
थप समाचार




स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!