भुरचौर –पोखरी टाट्के सिँचाइ योजना पुनः सञ्चालनमा, ६ करोड ५९ लाखको नयाँ ठेक्का स्वीकृत ।
स्थानीय
भुरचौर –पोखरी टाट्के सिँचाइ योजना पुनः सञ्चालनमा, ६ करोड ५९ लाखको नयाँ ठेक्का स्वीकृत ।

जाजरकोट — भेरी नगरपालिका वडा नं. १० मा अवस्थित भुरचौर –पोखरी टाट्के लिफ्ट सिँचाइ योजना लामो समयको अलपत्र अवस्थापछि पुनः सञ्चालनको चरणमा प्रवेश गरेको छ। २०४५ सालमा उद्घाटन गरिएको उक्त योजना प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय किसानहरूले वर्षौंदेखि सिँचाइ अभावको समस्या भोग्दै आएका थिए।
यस योजनाको मुख्य उद्देश्य भेरी नगरपालिका–१० क्षेत्रका खेतीयोग्य जमिनमा नियमित सिँचाइ सुविधा पुर्याई कृषि उत्पादन वृद्धि गर्नु तथा किसानहरूको जीवनस्तर सुधार गर्नु रहेको छ। तर उद्घाटनपछि आवश्यक समन्वय, लगानी र निरन्तरता अभावका कारण योजना कार्यान्वयनमा ठोस प्रगति हुन सकेन। फलस्वरूप योजना लामो समयसम्म कागजमै सीमित जस्तै बनेको थियो।
बीचका वर्षहरूमा स्थानीय बासिन्दाहरूले आफ्नै पहलमा सर्वदान संकलन गरी करिब ३ किलोमिटर क्षेत्रसम्म सिँचाइ सुविधा विस्तार गर्ने प्रयास गरेका थिए। स्थानीयको श्रमदान र सहयोगबाट केही क्षेत्रमा सिँचाइ पु¥याउने काम भए पनि पर्याप्त स्रोत र प्राविधिक समन्वयको अभावका कारण उक्त प्रयास पूर्ण रूपमा सफल हुन सकेन। यसले किसानहरूलाई दीर्घकालीन समाधान दिन नसकेको अवस्था रह्यो। यसैक्रममा केही वर्षअघि करिब ५ करोड रुपैयाँको लागतमा योजना निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो। तर ठेक्का प्राप्त कम्पनीले समयमै काम सुरु नगरेपछि सम्झौता रद्द गरिएको थियो। त्यसपछि योजना पुनः सञ्चालनका लागि कुनै प्रभावकारी पहल नहुँदा स्थानीय स्तरमा निराशा बढ्दै गएको थियो। यही परिस्थितिलाई मध्यनजर गर्दै वडा अध्यक्ष दलबहादुर राणाको सक्रिय पहलमा योजना पुनर्जीवित गर्ने प्रक्रिया अघि बढाइएको हो। करिब डेढ वर्षको निरन्तर समन्वय, पहल र प्रयासपछि योजना पुनः ठेक्का प्रक्रियामा ल्याउन सफल भएको जनाइएको छ। हाल ६ करोड ५९ लाख रुपैयाँको लागतमा नयाँ ठेक्का स्वीकृत भइसकेको छ। नयाँ ठेक्का रोल्पास्थित ‘भूमि निर्माण सेवा’ कम्पनीले प्राप्त गरेको छ भने कर्णाली एकीकृत सिँचाइ कार्यालयमार्फत योजना कार्यान्वयन गरिने तयारी गरिएको छ।
वडा सचिव लाल बहादुर कार्कीका अनुसार आवश्यक प्रक्रिया पूरा भइसकेको र अब छिट्टै निर्माण कार्य सुरु गरिनेछ। वडा सचिव कार्कीले योजना कार्यान्वयनप्रति आशावादी देखिँदै भने, “लामो समयदेखि रोकिएको यो योजना अब व्यवस्थित रूपमा अघि बढ्नेछ। आवश्यक समन्वय र प्राविधिक व्यवस्थापन मिलाइएको छ। यसपटक काम निर्धारित समयमै सम्पन्न हुने अपेक्षा गरेका छौं।” वडा अध्यक्ष राणाले पनि योजना अब कुनै हालतमा अलपत्र नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नियमित अनुगमन, सरोकारवाला निकायसँग समन्वय र पारदर्शी कार्यप्रणालीमार्फत निर्माण कार्य अघि बढाइने स्पष्ट पारे। “यो योजना यहाँका किसानहरूको जीवनसँग जोडिएको विषय हो,” उनले भने, “अब ढिलाइ हुने अवस्था छैन, हामी निरन्तर अनुगमन गर्दै समयमै सम्पन्न गराउनेछौं।” यस योजनाले पूर्णता पाएमा भेरी नगरपालिका–१० का सयौं किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। हालसम्म सिँचाइ अभावका कारण बाली उत्पादनमा समस्या भोगिरहेका किसानहरूलाई योजना सञ्चालनपछि उल्लेख्य राहत पुग्ने विश्वास गरिएको छ। सिँचाइ सुविधा विस्तार भएसँगै बहुवर्षीय तथा नगदे बाली उत्पादनमा वृद्धि हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले लामो समयदेखि अलपत्र परेको योजना पुनः सुरु हुन लागेकामा खुसी व्यक्त गरेका छन्।
उनीहरूले यसपटक निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। स्थानीयका अनुसार योजना समयमै सम्पन्न भएमा खेती प्रणालीमा ठूलो परिवर्तन आउनेछ र युवाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्न समेत मद्दत पुग्नेछ। सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय र नियमित अनुगमन कायम रहेमा यस योजना दीर्घकालीन रूपमा सफल बन्ने अपेक्षा गरिएको छ ।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!








