स्थानीय

सुनचाँदीमा कर वृद्धि र नीतिको माग गर्दै कोहलपुरमा सुनचाँदी व्यवसायीको आन्दोलन जारी !

Samayapati

 कोहलपुर, असार १३ — सुनचाँदी व्यवसायीहरूमा सरकारद्वारा हालै सुनमा लगाइएको २ प्रतिशत विलासीता कर र बहुमूल्य हिरा-पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) प्रति गम्भीर असन्तोष व्यक्त गर्दै बाँकेको कोहलपुरमा  शान्तिपूर्ण आन्दोलन सम्पन्न गरिएको छ।

बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघको संयुक्त आयोजनामा भएको सो आन्दोलनमा व्यवसायीहरूले तत्काल कर फिर्ता लिनुपर्ने, स्पष्ट नीति नियमावली निर्माण गरिनुपर्ने र व्यवसाय सञ्चालनमा सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरेका छन्।

कार्यक्रम बाँके सुनचाँदी तथा गहना व्यवसायी संघका अध्यक्ष भविन्द्र रामदाम र मध्य तथा सुदूरपश्चिम सुनचाँदी गहना व्यवसायी संघका अध्यक्ष मानबहादुर सुनारको संयुक्त अध्यक्षतामा  कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न आभुषण महासंघ लुम्बिनी प्रदेश अध्यक्ष देवीलाल सुनारले पछिल्लो समय सरकारले करको भार थोपर्दै व्यवसाय नै संकटमा पार्न थालेको गुनासो गर्दै यस्तो नीति तत्काल सच्याइनुपर्ने माग गरे। उनले सुनचाँदी उद्योग नेपाली संस्कृतिसँग जोडिएको परम्परागत व्यवसाय भएको भन्दै यसलाई संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने बताए।

विशिष्ट अतिथि अतिथि कोहलपुर  उद्योग बाणिज्य  संघका उपाध्यक्ष चण्डीप्रसाद गैरेले व्यवसायीहरूको आवाज सुन्न सरकारलाई आग्रह गर्दै जनस्तरमा आधारित व्यवसायलाई दबाउने नीति कहिल्यै स्वीकार्य नहुने स्पष्ट पारे।

कार्यक्रममा  परिवर्तन विश्वकर्मा लगायत सम्पूर्ण सुनचाँदी व्यवसाय संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले ऐक्यबद्धता जनाउँदै कर तथा भ्याटको बोझले व्यवसायीहरू धरासायी हुने अवस्था आएको भन्दै सरकारलाई गम्भीर सावधानी अपनाउन विभिन्न पिले कार्ड बोकी नाराबाजी  गरेका थिए।

व्यवसायीहरूले माग पुरा नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने र सम्पुर्ण पसलहरु अनिश्चित कालिन बन्द गर्ने चेतावनीसमेत दिएका छन्। शान्तिपूर्ण तर उर्जाशील ढंगमा सम्पन्न उक्त आन्दोलनले सुनचाँदी व्यवसायीको समस्या र आवाज सम्बोधन गरिनुपर्ने विषय पुनः प्राथमिकतामा ल्याएको छ। 


प्रकाशित मिति: शुक्रवार, असार १३, २०८२, ११:३४:००
प्रतिक्रिया दिनुहोस्