कोहलपुरमा ४० महिलालाई लक्षित गरी चुरा पोते सम्बन्धि सीपमूलक तथा उद्यमशीलता तालिम सम्पन्न।
स्थानीय
कोहलपुरमा ४० महिलालाई लक्षित गरी चुरा पोते सम्बन्धि सीपमूलक तथा उद्यमशीलता तालिम सम्पन्न।

कोहलपुर असार ९ — लुम्बिनी प्रदेश सरकार अन्तर्गत प्रदेशसभा सदस्य माननीय बसन्ती अधिकारीको प्रमुख आतिथ्यतामा तथा घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण विश्वको अध्यक्षतामा बाँके कोहलपुरमा सञ्चालित १५ दिने सीपमूलक तालिम तथा एक दिने उद्यमशीलता तालिमको समापन गरिएको छ।
तालिममा ४० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जको आयोजना तथा श्री संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था को समन्वयमा जेठ ७ गतेदेखि सुरु भई असार ७ गतेसम्म सञ्चालन गरिएको हो।
तालिमको अन्त्यमा उद्यमशिलता सम्बन्धि एकदिने तालिम सहित प्रविधि हस्तान्तरण समेत गरिएको थियो, जसअन्तर्गत महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्न आवश्यक सामग्री र उपकरण प्राप्त गरे। समापन कार्यक्रममा प्रमुख अतिथि माननीय बसन्ती अधिकारीले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमको प्रभावकारीता उल्लेख गर्दै भनिन्, “महिलाहरूलाई सशक्त बनाउन आत्मनिर्भर बन्ने सीपको आवश्यकता पर्छ। सीप प्राप्त गरेपछि स्वरोजगारको बाटो खुल्छ। लुम्बिनी प्रदेश सरकारले ग्रामीण भेगका महिलाका लागि यस्ता तालिमहरूलाई प्राथमिकता दिइरहेको छ।”
कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले महिलाहरूले सिकेको सीप व्यवहारमा उतार्नका लागि सहयोग र उत्प्रेरणा आवश्यक रहेको उल्लेख गर्दै भने, “विशेष गरी दलित तथा पछाडि पारिएका वर्गका महिलाहरूलाई यस्ता कार्यक्रमले उद्यमशीलता र आत्मनिर्भरता तर्फ अग्रसर गराउँछ।”
कोहलपुर नगरपालिका महिला विकास शाखा प्रमुख घटना शाहले तालिमको निरन्तरता र व्यवहारमा उपयोग सुनिश्चित गर्न सहकार्य र प्रवर्द्धन अपरिहार्य रहेको बताइन्। “सीप सिकेर मात्र पुग्दैन, त्यसलाई लागू गर्न वातावरण तयार गरिनुपर्छ,” शाहले भनिन्।
तालिम अवधिभर प्रशिक्षक कृष्ण बुढाथोकीले सहभागी महिलाहरूलाई सिलाई, बुनाई, खाद्य पदार्थ प्रशोधन लगायतका सिपहरू, व्यावसायिक योजना बनाउन, बजारीकरण र मूल्य निर्धारणका विषयमा प्रशिक्षण दिएका थिए। उनले तालिमपछि महिलाहरू आफैं व्यवसाय थाल्न सक्ने अवस्था बनाइएको जानकारी दिए।
कार्यक्रमको अध्यक्षता गर्दै घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण बिष्ट सहभागिता जनाएका महिलाहरूलाई बधाई दिँदै भने, “हामी यस्ता कार्यक्रमलाई अझ व्यावसायिक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्छौं। तालिम सकिएपछि पनि महिलाहरूलाई आवश्यक परामर्श, अनुगमन र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको सहजीकरण श्री संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक तुल्सी सुनारले गरेकी थिइन। उनले प्रारम्भदेखि नै महिलाहरूसँग सहकार्य गर्दै तालिमलाई सफल बनाउने भूमिका निर्वाह गरेकी थिइन्।
कार्यक्रमको अन्त्यमा सहभागी महिलाहरूले सिकेका सीपहरूको प्रदर्शन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए भने सो कार्यक्रमको समापन अध्यक्ष
बिष्टले गर्दै तालिममा सहभागी ४० जना महिलाहरु लगायत सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!