स्थानीय

लुम्बिनी प्रदेशमा पसुमा देखिने बाँझोपना निवारणका लागि ‘डोर टु डोर’ कार्यक्रम : १२ वटै जिल्लाका किसान लाभान्वित !

Samayapati

धना के सि

लुम्बिनी प्रदेश सरकारले पशुमा देखिने बाँझोपना निवारणका लागि ‘डोर टु डोर’ कार्यक्रम १२ वटै जिल्लामा विस्तार गरेको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यस कार्यक्रमले किसानहरूलाई प्रत्यक्ष सेवा पुर्‍याइरहेको छ ! प्रदेश सरकारले भूमिको प्रकृतिको आधारमा कृषि उत्पादनमा यान्त्रिकीकरण, व्यावसायिकीकरण, बजारीकरण र आधुनिकीकरणमार्फत प्रतिस्पर्धात्मक अवस्थाको सिर्जना गर्दै रोजगारीको अवसर वृद्धि गर्ने नीति अवलम्बन गरेको छ। सोहीअनुसार पशुपालन क्षेत्रलाई सुधार गर्दै बाँझोपन निवारण कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

नेपालभर झण्डै २० प्रतिशत गाई–भैँसीमा बाँझोपन देखिएको तथ्यांक छ। जसले गर्दा किसानहरू वार्षिक अर्बौं रुपैयाँ बराबरको नोक्सानी बेहोर्न बाध्य छन्। बाँझोपनका कारण जनावरले समयमै बच्चा दिन सक्दैनन् र दूध उत्पादनमा पनि गिरावट आउँछ। लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थीका अनुसार, “पशुपालक किसानको गोठमै पुगेर समस्या पहिचान र उपचार गरिने ‘डोर टु डोर’ कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको हो।” उहाँका अनुसार कार्यक्रमबाट हालसम्म ७०–८५ प्रतिशतसम्म बाँझोपन निवारण सफल भएको छ। मन्त्री पन्थी भन्छन्, “डोर टु डोर कार्यक्रमले किसानलाई सरकारसँगको सम्बन्ध महसुस गराएको छ।

अब कर्मचारी आफैँ किसानको गोठमा पुगेर सेवा दिइरहेका छन्।” रुपन्देहीको सियारी गाउँपालिकाका किसान श्रीराम यादवले पालेका ८५ गाईमध्ये १० मा बाँझोपन देखिएको थियो। उनले भने, “डोर टु डोर कार्यक्रमअन्तर्गत प्राविधिक टोली घरमै आएर उपचार गरेपछि सबै गाई गर्भवती भएका छन्।” त्यस्तै, बाँकेको खजुरा गाउँपालिकाका तुलाराम सापकोटा भन्छन्, “पहिले पशुलाई अस्पताल लैजान असहज हुन्थ्यो, अहिले गोठमै सेवा पाइँदा समय, खर्च र श्रमको बचत भएको छ।”जानकी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टिकानाथ यादवका अनुसार, “गाई–भैंसीको बाँझोपन निवारणपछि किसान उत्साहित छन्। यो कार्यक्रम अत्यन्त लाभदायी भएकाले यसलाई निरन्तरता दिनु आवश्यक छ।” भेटेरिनरी अस्पताल नेपालगन्जका सूचना अधिकारी भोज बहादुर रावतका अनुसार, बाँझोपनका प्रमुख कारणहरूमा सिस्टिक अन्डाशय, बारम्बार प्रजनन, पोषणको कमी, दोषपूर्ण एआई प्रविधि, तथा अन्य रोगहरू पर्दछन्। समयमै विशेषज्ञको पहुँच पुगेमा यो समस्या निको हुन्छ।

रुपन्देहीमा कार्यरत पशु चिकित्सक समुन बन्जाडे भन्छन्, “हामी किसानको गोठमै पुगेर २०–२५ प्रकारका औषधिहरू सहित सेवा दिइरहेका छौं। रुपन्देहीका प्रमुख डा. दिपक भुषालका अनुसार, “तीन पालिकामा हालसम्म ९० परिवार कार्यक्रमबाट लाभान्वित भएका छन्। उपचारपश्चात ८५ प्रतिशत सुधार देखिएको छ र ९० दिनपछि पुन: फलोअप गरिन्छ। डोर टु डोर कार्यक्रम लुम्बिनी प्रदेशको पशुपालन क्षेत्रमा एक किसानमुखी क्रान्तिकारी पहल सावित भएको छ। बाँझोपन निवारणसँगै उत्पादन वृद्धि, दूधमा आत्मनिर्भरता र किसानको मनोबल उच्च बनाउने यस अभियानलाई दीर्घकालीन योजनासँग अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ।


प्रकाशित मिति: मंगलबार, असार १०, २०८२, ०८:०८:००
प्रतिक्रिया दिनुहोस्