बाँके जिल्लामा प्रभावकारी बन्दै विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम।
स्थानीय
बाँके जिल्लामा प्रभावकारी बन्दै विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम।

पबित्रा परियार कोहलपुर बाँके,
लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम बाँके जिल्लामा प्रभावकारी बन्दै गएको छ।
विद्यार्थीमा स्वस्थ जीवनशैली विकास गर्नु, पोषण, सरसफाइ र यौन–प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
यस कार्यक्रम अन्तर्गत बाँके र रोल्पा जिल्लाका सामुदायिक विद्यालयहरूमा २० जना स्वास्थ्यकर्मी खटाइएको छ। स्वास्थ्यकर्मीहरूले विद्यालयमा नियमित स्वास्थ्य परामर्श, प्राथमिक उपचार, महिनावारी सरसफाइ सम्बन्धी सल्लाह तथा प्याड वितरणजस्ता सेवाहरू दिइरहेका छन्। १२ विद्यालयमा कार्यक्रम सञ्चालन बाँके जिल्लाको धम्बोझी मावि नेपालगञ्ज, जनता मावि सन्तकुटी खजुरा, जनता मावि डुडुवा, सगरमाथा ज्ञानपुन्ज मावि कोहलपुर, ज्ञानोदय नमुना मावि खजुरा, जनसेवा मावि खजुरा, त्रिभुवन मावि कोहलपुर, जय जनता मावि नेपालगञ्ज थपुवा, कृष्ण मावि कोहलपुर, आदर्श मावि नेपालगञ्ज, भानु मावि खजुरा र प्रभात मावि जि गाउँमा कार्यक्रम सञ्चालन गरिएको छ।
विद्यार्थीको अनुभव सकारात्मक कक्षा ९ की महीमा विक भन्छिन्, "विद्यालयमा स्वास्थ्यकर्मी आएपछि महिनावारी सरसफाइ, जङ्क फूडको असर, हात धुने तरिका आदि विषयमा धेरै कुरा सिक्न पाइयो।" त्यस्तै, सगरमाथा ज्ञानपुन्ज मावि की सुनिता चौधरी भन्छिन्, "अब महिनावारी भएको बेला प्याड माग्न सहज भएको छ। प्रजनन स्वास्थ्य र सरसफाइसम्बन्धी सल्लाह पाउने भएको छ।" विद्यालयमै उपचार सेवा सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख उद्धव प्रसाद श्रेष्ठका अनुसार स्वास्थ्य समस्या परेमा विद्यार्थीलाई तुरुन्त विद्यालयमै प्राथमिक उपचार सेवा उपलब्ध गराइएको छ। किशोर–किशोरीहरूलाई प्रजनन स्वास्थ्य, परिवार नियोजन र यौनिकता सम्बन्धी सल्लाह पनि दिइन्छ। सगरमाथा ज्ञानपुन्ज माविका प्राचार्य मोहन चौधरीका अनुसार विद्यालयमै उपचार पाउने भएपछि स्वास्थ्य संस्था जानुपर्ने झन्झट हटेको छ। हालसम्म विद्यालयमै १०० जना बिरामीको उपचार गरिएको उनले जानकारी दिए। कोहलपुर नगरपालिकाले प्राथमिक उपचारका लागि औषधी तथा सामग्री खरिद गर्न १ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ।
सुविधा छ, तर चुनौती पनि बाँकी त्रिभुवन मावि कोहलपुरकी शिक्षक जयकला रावत भन्छिन्, “स्वास्थ्यकर्मी आएपछि उपचार सजिलो भएको छ, तर औषधी र सामग्रीको अभाव अझै छ। विद्यालयमै सामान्य औषधीहरू उपलब्ध भए कार्यक्रम झन प्रभावकारी हुन्थ्यो।” त्यही विद्यालयमा खटिएकी स्वास्थ्यकर्मी सुनिता न्यौपाने भन्छिन्, “ज्वरो, पेट दुख्ने, बेहोस हुने समस्या धेरै छन्।
आवश्यक औषधी विद्यालयमै उपलब्ध गराउन गाह्रो हुन्छ।” निष्कर्ष विद्यालयमा स्वास्थ्यकर्मीको उपस्थितिले विद्यार्थीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। शिक्षण सिकाइमा प्रेरणा बढ्नुका साथै बालबालिकाको स्वास्थ्य सुरक्षामा सहयोग पुगिरहेको शिक्षकहरूको भनाइ छ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!