स्थानीय

दैलेखबाट आयो ऊर्जा क्रान्तिको खबर, चिनियाँ कम्पनीले नेपाललाई बुझायो ग्यास भण्डारणको प्रमाण!

Samayapati

दैलेख जिल्लाको सदरमुकाम नजिकैको जलजले क्षेत्रमा मितिल ग्यासको विशाल भण्डारण भेटिएको छ।

चिनियाँ जियोलोजिकल सर्भे कम्पनीले हालै बुझाएको प्रारम्भिक प्रतिवेदनमा सो ग्यास भण्डारणको पुष्टि भएको हो।

प्रतिवेदन अनुसार, जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर ग्यास परीक्षणबाट प्रमाणित भएको छ भने सोही क्षेत्रमा बाँकी तीन सम्भावित कुइँनमा समेत परीक्षण भएमा कुल ४३० अर्ब घनमिटर मितिल ग्यास रहेको अनुमान गरिएको छ।

नेपाल सरकारले सन् २०१९ मा चीनसँग भएको समझदारीपछि दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणको काम अघि बढाएको थियो। खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक दिनेश कुमार नापितका अनुसार, २०७८ साल वैशाख २८ गतेदेखि अन्वेषण कार्य सुरु गरिएको थियो। पहिलो कुइँनमा ४,०१३ मिटर गहिराइसम्म खनाइ गरी नमुना सङ्कलन गरिएको थियो।

जियोलोजिकल सर्भे अफ चाइना कम्पनीले ती नमुनाहरूको वैज्ञानिक परीक्षण गरेपछि प्राप्त भएको प्रारम्भिक प्रतिवेदनले नेपालमा ग्यास भण्डारणको नयाँ ढोका खोलेको छ। जलजले क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा गरिएको अन्वेषणको आधारमा प्राप्त नतिजाले देशलाई ऊर्जा आत्मनिर्भर बनाउने विश्वास बढाएको छ।

नेपाल सरकारले अन्वेषणको लागि जलजलेमा करिब ४५ रोपनी क्षेत्रफल जमिन उपयोग गरेको छ। उपमहानिर्देशक नापितका अनुसार, अहिलेको प्रतिवेदन प्रारम्भिक मात्रै हो। ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभसम्बन्धी विस्तृत परीक्षण भने अझै जारी छ।चिनियाँ कम्पनीले सन् २०२५ डिसेम्बरसम्म अन्तिम प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। सो प्रतिवेदनपछि व्यावसायिक उत्पादन परीक्षण सुरु गर्ने सरकारी योजना रहेको छ।

परियोजनाको अनुमानित लागत करिब ६५ करोड रुपैयाँ रहेको जनाइएको छ। प्रारम्भिक प्रतिवेदनले देखाएको विशाल ग्यास भण्डारणको सम्भावनाले आगामी दिनमा नेपाललाई इन्धन आयातमा निर्भर रहनु नपर्ने दिशातर्फ उन्मुख गराउने विश्वास गरिएको छ। यसले नेपालमा स्वदेशी स्रोतबाट नै ग्यास उत्पादन गरी वितरण गर्ने आधार तयार गर्नेछ। नेपाल सरकारले दैलेखसँगै दाङ, पाल्पा र सुनसरी जिल्लाहरूमा समेत पेट्रोलियम तथा ग्यास अन्वेषणका लागि तयारी थाल्ने योजना अघि सारेको छ।

राष्ट्रिय ऊर्जा सुरक्षाका दृष्टिले यो परियोजना ऐतिहासिक अवसरका रूपमा लिइएको छ। यदि प्रारम्भिक प्रतिवेदनमा देखिएको ग्यास भण्डारण पुष्टि भयो भने, नेपालले ५० वर्षसम्मको ग्यास आवश्यकतालाई स्वदेशी स्रोतबाट नै पूरा गर्न सक्नेछ। यस्तो उपलब्धिले देशको आर्थिक भार कम गर्नुका साथै ऊर्जा क्षेत्रमा स्वतन्त्रता हासिल गर्न टेवा पुग्नेछ।


प्रकाशित मिति: बिहिवार, असार ५, २०८२, ०८:५९:००
प्रतिक्रिया दिनुहोस्