स्थानीय

कोहलपुरमा बिट पत्रकारिता तालिम मंगलबार सम्पन्न, पत्रकारहरू विषयगत लेखनमा अभिप्रेरित!

Samayapati

कोहलपुर  जेठ ६ — नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तीन दिने बिट पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ।

पत्रकारहरूलाई विषयगत दक्षता अभिवृद्धि गर्दै जिम्मेवार र सशक्त पत्रकारिता अभ्यासमा योगदान पुर्‍याउने लक्ष्यका साथ यो तालिम सञ्चालन गरिएको  हो।

 तालिमको समापन सत्रमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा  प्रमुख अतिथि कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले कार्यक्रमको समापन सत्रमा बोल्दै "सञ्चार लोकतन्त्रको मेरुदण्ड हो,"  "पत्रकारितामा विषयगत दक्षता नहुन्जेल सशक्त सूचना प्रवाह सम्भव हुँदैन।" उनले यस्ता तालिमहरूले पत्रकारहरूलाई फरक फरक बिटमा समाचार लेख्न उत्प्रेरणा दिने बताउँदै भनिन्, "बिगतका वर्षहरूमा पनि नगरपालिकाले पत्रकारिता तालिममा सहकार्य गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा अझ प्रभावकारी रूपमा साथ दिने प्रतिबद्धता जनाइन।

" कार्यक्रमका  विशिष्ट अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले स्थानीय सरकार र सञ्चार माध्यमबीचको सहकार्यलाई अझ मजबुत बनाउन यस्ता तालिमले मद्दत गर्ने धारणा राखे। "जनतासँग प्रत्यक्ष सरोकार राख्ने पत्रकारिता झन् जिम्मेवार, गम्भीर र विषयवस्तुमा आधारित हुन आवश्यक छ," उनले भने, "स्थानीय सरकार पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वका सवालमा पत्रकारिताको भूमिकालाई सम्मान गर्छ।

कार्यक्रमका सहजकर्ता  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईंले पत्रकारिता अहिले चुनौतिपूर्ण मोडमा रहेको उल्लेख गर्दै, "बिट पत्रकारिता गहिरो अध्ययन र अनुभव आवश्यक पर्ने अभ्यास हो," भन्दै, यस्ता तालिमहरू व्यावसायिक पत्रकार निर्माणको पाटोमा उपयोगी रहेको बताए। "पत्रकारिता गर्दा गहिरो विश्लेषण, निरन्तर अनुगमन र तथ्यको खोजी गर्ने अभ्यास हुनुपर्छ," चौलागाईंले भने, "बिट पत्रकारिता त्यही अभ्यासको आधार हो।

तालिमका प्रशिक्षक तथा कान्तिपुरकर्मी रुपा गहतराज, अग्रज पत्रकार डक्ट थिताल, रुद्र सुबेदी, कालपृष्ठ दैनिकका सम्पादक कलम खत्री, नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब अध्यक्ष निरज गौतमले सो तालीमको कुशल र सहज तरिकाले  प्रशिक्षण दिएका थिए।

तालिम व्यवस्थापनमा सक्रिय सहजकर्ताको भूमिका निर्वाह गरेका  कोहलपुर नगरपालिकाका प्रेस संयोजक प्रिया स्मृति ढकालले पत्रकारिताको स्तरीयता अभिवृद्धिका लागि यस्ता तालिम अपरिहार्य रहेको र "स्थानीय सरकार र पत्रकारबीच सहकार्यको यो एउटा नमुना अभ्यास हो," उनले भने बिट पत्रकाररिता गर्दा सबैभन्दा पहिले  बिटको अर्थ बुझी सोहि तरिकाले समाचार लेख्न आग्रह गरे।, 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले समापन सत्रमा बोल्दै पत्रकारको व्यावसायिक विकास र सीप विस्तारमा महासंघले निरन्तर सक्रिय भूमिका खेल्ने बताए। "बाँकेका पत्रकारलाई अझ दक्ष, जिम्मेवार र विषयगत रूपमा सशक्त बनाउन महासंघले तालिमको निरन्तरता दिनेछ," गिरीले स्पष्ट पारे।  तालीममा कोहलपुरका पत्रकारहरुको उल्लेखनीय  सहभागीता रहेको थियो। आजको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष  सुनिल रेग्मीले गरेका थिए। 


प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२, ०७:३४:००
प्रतिक्रिया दिनुहोस्