स्थानीय

"रक्तदान जीवनदान हो": बाँके सेवा समाज, कतारको रक्तदान कार्यक्रम सम्पन्न!

Samayapati

कतारमा रहेका नेपाली श्रमिकलाई आपत्कालीन स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने उद्देश्यले बाँके सेवा समाज, कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

दोहास्थित हमाद हस्पिटलको रक्त सञ्चार केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका हुन्।

कार्यक्रम बाँके सेवा समाज, कतारका अध्यक्ष रमेश केसीको अध्यक्षतामा प्रमुख अतिथि नेपाल आदान-प्रदान मञ्च, कतारका अध्यक्ष नारायण पोखरेलले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पोखरेलले नेपाली समुदायको एकताले प्रवासमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन सम्भव भएको बताउँदै यस्ता कार्यक्रमहरूलाई संस्थागत रूपमा अगाडि बढाउन आवश्यक रहेको उल्लेख गरे।

विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए), कतारका वरिष्ठ उपाध्यक्ष गोकर्ण केसीले रक्तदान कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने बताए। उनले संकटमा सहयोग पुर्‍याउने यस्ता पहलहरू भविष्यमा अझ व्यापक बनाउनुपर्ने आवश्यकता औंल्याए।

बाँके सेवा समाज, कतारका उपाध्यक्ष हेमराज रिजालका अनुसार कतारमा कार्यरत नेपाली श्रमिकहरू स्वास्थ्य संकटका बेला रगत अभावको समस्या झेल्न बाध्य नहुन् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। उनले अब नियमित रूपमा रक्तदान कार्यक्रम गरिने जानकारी दिए।

कार्यक्रम विशेषता रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा १०० भन्दा बढी नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो। कतारस्थित नेपाली समुदायले रक्तदान कार्यक्रमलाई उत्साहजनक सहभागिता जनाएको छ।

कार्यक्रमको समापन गर्दै बाँके सेवा समाज, कतारका अध्यक्ष रमेश केसीले रक्तदान जस्तो महान कार्यलाई निरन्तरता दिन आवश्यक रहेको बताए। उनले प्रवासी नेपालीहरूको एकता र सहयोगको भावना अझ मजबुत बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गर्दै सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिए।

कतारमा हाल ३ लाख ६४ हजार नेपाली श्रमिक कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। "रक्तदान जीवनदान हो" भन्ने सन्देश बोकेर प्रवासी नेपालीहरूलाई संकटमा सहयोग पुर्‍याउने अभियान निरन्तर चलाइने आयोजकहरूले बताएका छन्। आगामी दिनमा अझ विस्तारित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। यस कार्यक्रममा बाँके सेवा समाज, कतारका सचिवले कुशल उद्घोषण गरी कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।


प्रकाशित मिति: शुक्रवार, फाल्गुन २३, २०८१, ०७:२९:००
प्रतिक्रिया दिनुहोस्