कोहलपुरमा रहेको शुभ लक्ष्मी फेन्सी पसलमा भीषण आगलागी, लाखौंको क्षति !
स्थानीय
कोहलपुर २ मा रहेको सिद्धेश्वर महादेव मन्दिरको सिङ्गारिक महाआरती महोत्सव सुरु।

कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको श्री सिद्धेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनार्थको आयोजना गरिने भएकोले कोहलपुर सिद्धेश्वर सिङ्गारिक महाआरती धर्मजागरण सप्ताह महोत्सव २०८१ भव्य रूपमा सुरु भएको छ।
श्री सिद्धेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माण, धार्मिक पर्यटन प्रवर्द्धन, धार्मिक आस्था अभिवृद्धि तथा अक्षयकोष स्थापनार्थ आर्थिक संकलन गर्नु रहेको हो।
महोत्सवको उद्घाटन समारोहका सभाध्यक्ष महेन्द्र हमालको अध्यक्षतामा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय बसन्ती अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिन्। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अधिकारीले धार्मिक तथा सांस्कृतिक महोत्सवहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताइन्। "धर्म तथा संस्कृतिसँगै समाजको विकास जोडिएको हुन्छ। यस्ता महोत्सवहरूले न केवल धार्मिक आस्थालाई प्रवर्द्धन गर्छन्, बरु पर्यटन, स्थानीय अर्थतन्त्र र सामाजिक एकतालाई पनि मजबुत बनाउँछन्," उनले भनिन्। उनले श्री सिद्धेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार निर्माणले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उल्लेख गर्दै यस कार्यमा सबैको सहयोग आवश्यक रहेको बताइन्।
कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले "मन्दिर केवल पूजाआजा गर्ने स्थान मात्र होइन, यो हाम्रो पहिचान, संस्कृति र आस्थाको प्रतीक हो। यसलाई व्यवस्थित बनाउन हामी सबैको सहकार्य जरुरी छ। नगरपालिकाको तर्फबाट पनि आवश्यक पहल गरिनेछ," भन्दै मन्दिरको विकासमा स्थानीय सरकारको प्रतिबद्धता व्यक्त गरे।
विशिष्ट अतिथि कथावाचक आचार्य ऋषिकेश उपाध्यायले धर्म जागरण सप्ताहले समाजमा नैतिकता, सदाचार र धार्मिक चेतनाको विकास गर्ने विचार व्यक्त गर्दै "धर्मको मर्म बुझ्न सके जीवन सार्थक हुन्छ। धार्मिक गतिविधिहरूले व्यक्ति मात्र होइन, समग्र समाजको उत्थान गर्छ," भने।
अन्य अतिथिहरू नेपाली कांग्रेसका नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमाले नगर अध्यक्ष कुलबहादुर भट्टराई, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष बलबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष भरत पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष अर्जुन जंग शाह, नेकपा समाजवादी पार्टी नगर अध्यक्ष शिवप्रसाद डाँगी, कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदी, अतिथि जिल्ला समिति उपप्रमुख सीता कार्की, वडा नं. २ का वडा अध्यक्ष हरि कठाइत, वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै महोत्सवको उद्देश्यको प्रशंसा गरे।
यस महोत्सवलाई सफल बनाउन विभिन्न संघसंस्था, धार्मिक संघ–संस्था तथा स्थानीय व्यक्तित्वहरूले उल्लेखनीय भूमिका खेले। सबैभन्दा धेरै दान गर्ने महानुभावहरूलाई विशेष सम्मानका साथकोहलपुर नगर परिक्रमा गरिने शिला लेखमा नाम नामकरण गरिने उल्लेख गरिएको छ।यस अभियानले धार्मिक तथा सामाजिक सेवामा योगदान दिने परम्परालाई अझ मजबुत बनाउने आयोजकहरूको विश्वास छ।कार्यक्रमका संचालक तथा कुशल उद्घोषक
बालकुमार शर्माले महोत्सवको सम्पूर्ण प्रक्रिया सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रमका सभाअध्यक्ष महेन्द्र हमालले आजको औपचारिक उद्घाटन सत्रको समापनमा मन्तव्य दिँदै "धर्मले मानिसलाई एकतामा बाँध्छ, संस्कृतिले पहिचान दिन्छ। हामी सबैको प्रयासले मन्दिरको विकास मात्र होइन, धार्मिक पर्यटनको प्रवर्द्धन समेत हुनेछ," भन्दै सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय श्रद्धालु तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। धार्मिक आस्था, सामाजिक एकता र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिने विश्वासका साथ महोत्सव भव्य रूपमा सुरु भएको छ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!