स्थानीय

कोहलपुरमा ४३औं मगर संघ स्थापना दिवस भव्य रूपमा सम्पन्न !

Samayapati

कोहलपुर, फागुन १५ – नेपाल मगर सङ्घ नगर कमिटी कोहलपुरको आयोजनामा ४३औं मगर संघ  स्थापना दिवसीय पर्व २०८१ कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ।

मगर समुदायको भेषभूषा, रहनसहन तथा भाषा-संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रम विविध सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमसहित सम्पन्न भएको हो।

कार्यक्रमका अध्यक्ष नेपाल मगर सङ्घ नगर कमिटी कोहलपुरका अध्यक्ष कृष्णबहादुर पुन मगरको अध्यक्षतामा  प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि आचार्यले मगर समुदायको समृद्ध इतिहास, मौलिक संस्कृति र सामाजिक योगदानको उच्च मूल्यांकन गरे। उनले मगर समुदायले आफ्नो पहिचान जगेर्ना गर्दै सहअस्तित्व र समावेशीताको मार्गमा अघि बढ्नुपर्नेमा जोड दिए।कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्य डम्बर थापा मगरले पनि आफ्ना धारणा राखेका थिए।

विशेष अतिथि लुम्बिनी प्रदेशकी पूर्व सांसद पार्वती पुन उषा, नेपाल मगर संघ  लुम्बिनी प्रदेश सदस्य कृष्णबहादुर पुन, नेपाल मगर संघ  लुम्बिनी प्रदेश सदस्य मिना पुन मगर, नेपाल मगर संघ बाँके जिल्ला अध्यक्ष भूपेन्द्र पुन मगर तथा केसर आले रहेका थिए। उनीहरूले मगर समुदायको योगदान, इतिहास र वर्तमान भूमिकाबारे चर्चा गर्दै मगर भाषा, संस्कृतिको प्रवर्द्धनमा संग्गको भूमिका अझ प्रभावकारी बनाउन आग्रह गरे।

कोहलपुर नगरपालिकाका सामाजिक विकास शाखा संयोजक ईश्वरीप्रसाद विश्वकर्माले मगर समुदायको सांस्कृतिक पर्वहरूको महत्वबारे प्रकाश पार्दै नगरपालिका मगर समुदायसँग सहकार्य गर्न तत्पर रहेको बताए। त्यस्तै, कोहलपुर नगरपालिका वडा नम्बर १० की अध्यक्ष गौरवकुमारी भट्टराई अधिकारी, वडा नम्बर ८ का अध्यक्ष लालबहादुर राणा, वडा नम्बर ४ का अध्यक्ष मुबारक अली गुजर, वडा नम्बर ५ का अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले मगर समुदायको पहिचान जगेर्नाका लागि यस्ता सांस्कृतिक कार्यक्रमहरूको निरन्तरताको आवश्यकता औंल्याए।

कार्यक्रममा मगर समुदायका अग्रज, बुद्धिजीवी, विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मगर समुदायको मौलिक पहिरनमा सजिएका पुरुष तथा महिलाहरूको सहभागीता कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु रहेको थियो।

उपस्थित अतिथिहरूले मगर समुदायको सांस्कृतिक महत्त्व झल्कने नृत्य, गीत तथा परम्परागत झाँकी प्रस्तुतिहरूको प्रशंसा गरेका थिए।

कार्यक्रमको औपचारिक समापन गर्दै अध्यक्ष कृष्णबहादुर पुन मगरले नेपाल मगर सङ्घ नगर कमिटी कोहलपुर मगर समुदायको उत्थान र संस्कृतिको संरक्षणका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे। उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै मगर संस्कृति, भाषा र पहिचानको प्रवर्द्धनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।

मगर समुदायको संस्कृति प्रवर्द्धन तथा ऐतिहासिक पहिचानको संरक्षण गर्न आयोजित यो कार्यक्रम मगर समुदायसहित स्थानीय समाजमा सांस्कृतिक सहिष्णुता र आपसी सद्भाव बढाउने महत्वपूर्ण अवसर बनेको सहभागीहरूले बताएका छन्।


प्रकाशित मिति: बिहिवार, फाल्गुन १५, २०८१, ०४:१४:००
प्रतिक्रिया दिनुहोस्