स्थानीय

श्री भुवरभवानी माध्यमिक विद्यालय: ग्रामीण शिक्षाको नेतृत्वदायी यात्रामा अग्रसर !

Samayapati

 बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्री भुवरभवानी माध्यमिक विद्यालयले आफ्नो स्थापना कालदेखि नै शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।

२०१६ सालमा स्थापना भएको यस विद्यालयमा हाल ४०१ विद्यार्थी अध्ययनरत छन्। स्थानीय स्तरमा शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रयास गरिरहेको छ। विद्यालयले शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै सामुदायिक स्तरमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

विद्यालयका अध्यक्ष  रेग बहादुर खड्काले विद्यालयको प्रमुख उद्देश्य विद्यार्थीहरूको सर्वांगीण विकास गर्नु रहेको बताए। उनले भने, “हामीले विद्यार्थीहरूको शैक्षिक मात्र नभएर मानसिक र शारीरिक विकासका लागि पनि उत्तिकै ध्यान दिइरहेका छौं। विशेषगरी ग्रामीण क्षेत्रमा रहेका बालबालिकालाई उच्च शिक्षाको पहुँच दिलाउनु हाम्रो प्रमुख उदेश्य  हो। यसका लागि हामीले शिक्षा र अतिरिक्त क्रियाकलापलाई सन्तुलनमा राख्ने काम गरिरहेका छौं।” विद्यालयमा हाल १९ शिक्षक कार्यरत छन् भने २ जना लेखापाल र २ जना कार्यालय सहयोगी सहित २३ जना कर्मचारी विद्यालयमा आवद्ध छन्।

शिक्षकहरूले विषयगत ज्ञानसँगै व्यवहारिक शिक्षामा पनि ध्यान दिँदै आएका छन्। विद्यालयले विशेष गरी छात्रवृत्तिको पनि व्यवस्थापन गरेको छ, जसअन्तर्गत ११८ छात्राहरूलाई छात्रवृत्तिबाट लाभान्वित गराइएको छ। यो कार्यक्रमले छात्राहरूलाई थप प्रोत्साहित गरेको र विद्यालयले लिंग समानताको दिशामा पनि योगदान पुर्याइरहेको अध्यक्ष खड्काले बताए। विद्यालयमा कक्षा ११ को भर्ना प्रक्रिया पनि जारी छ। कक्षा ११ र १२ मा शैक्षिक विषयमा शिक्षा र व्यवस्थापन विषयहरू अध्ययन गर्न सकिनेछ। यी विषयहरू ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि उपयुक्त मानिएको छ, जसले उनीहरूलाई भविष्यमा रोजगारीका अवसरहरू प्राप्त गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।

विद्यालयले भर्ना प्रक्रियालाई सरल र सहज बनाउन विशेष ध्यान दिएको जानकारी गराइएको छ। श्री भुवरभवानी माध्यमिक विद्यालयले विद्यार्थीहरूका लागि शिक्षासँगै थप शैक्षिक र व्यवहारिक सुविधाहरू उपलब्ध गराइरहेको छ। यस विद्यालयमा पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, प्राथमिक उपचार केन्द्र, र विभिन्न प्रकारका खेलकुद सामग्रीहरूको व्यवस्था गरिएको छ। पुस्तकालयले विद्यार्थीहरूलाई अध्ययन सामग्रीमा पहुँच पुर्‍याएर उनीहरूको अध्ययन गर्ने बानीलाई अझ बलियो बनाउने उद्देश्य राखेको छ। कम्प्युटर ल्याबले विद्यार्थीहरूलाई सूचना प्रविधि सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दै उनीहरूलाई डिजिटल युगसँग परिचित गराउने काम गरिरहेको छ। विज्ञान प्रयोगशालाले व्यवहारिक प्रयोगमार्फत विद्यार्थीहरूलाई विज्ञानमा थप रुचि जागरुक गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ। विद्यालयमा प्राथमिक उपचार केन्द्रको पनि व्यवस्था गरिएको छ, जसले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै आकस्मिक उपचार सुविधा प्रदान गर्दछ।विशेष गरि यो क्षेत्र भित्रका विद्यार्थीहरूको लागि यस्तो केन्द्रले स्वास्थ्य समस्यामा तुरुन्त सहयोग पुर्‍याउने हुँदा यो महत्वपूर्ण सुविधा बनेको छ।

विद्यालयमा प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप पनि गाउँपालिकाको वार्षिक तालिका अनुसार नियमित रूपमा सञ्चालन हुने गरेका छन्। यसअन्तर्गत खेलकुद, सांस्कृतिक कार्यक्रम, र अन्य रचनात्मक क्रियाकलापहरू आयोजना गरिन्छ। यस्ता क्रियाकलापले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गरेको प्रधानाध्यापक चेत बहादुर बिष्टले बताए। उनले थपे, “अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई शैक्षिक तनावबाट टाढा राखेर उनीहरूको अन्य क्षमताहरू विकास गर्न सहयोग गर्छ। हामीले यसलाई शैक्षिक पाठ्यक्रमको महत्वपूर्ण हिस्सा बनाएका छौं।” खेलकुद सामग्रीहरू विद्यालयमा पर्याप्त मात्रामा उपलब्ध गराइएको छ, जसले विद्यार्थीहरूलाई विभिन्न खेलमा सहभागी गराउने अवसर प्रदान गरेको छ। विद्यालयमा फुटबल, भलिबल, कबड्डी, दौड लगायतका खेलहरू खेल्नका लागि आवश्यक सामग्रीहरू व्यवस्थापन गरिएको छ, जसले विद्यार्थीहरूको शारीरिक फिटनेसमा सहयोग पुर्याइरहेको छ। विद्यालयको भौतिक पूर्वाधार, पठनपाठनको गुणस्तर, र अतिरिक्त क्रियाकलापको प्रभावकारितालाई अझ प्रभावकारी बनाउँदै लैजाने लक्ष्यका साथ विद्यालय अगाडि बढिरहेको छ।यस क्षेत्रका अभिभावकहरूको समेत विद्यालयप्रतिको विश्वास र भरोसा बढ्दै गएको प्रधानाध्यापक बिष्टले बताए। “विद्यालयमा खेलकुद र अतिरिक्त क्रियाकलापहरूको आयोजनाले विद्यार्थीहरूमा आत्मविश्वास बढेको छ र उनीहरूमा समन्वय र नेतृत्व क्षमताको विकास भइरहेको छ,” प्रधानाध्यापक बिष्टले थपे। विद्यालय व्यवस्थापन समितिले शिक्षा क्षेत्रमा अन्य योजनाहरू पनि अगाडि सार्दै गरेको छ। विद्यालयले अबका वर्षहरूमा नयाँ शैक्षिक कार्यक्रमहरूको थालनी गर्ने र विद्यालयको भौतिक पूर्वाधारलाई थप सुदृढ बनाउने योजना रहेको जानकारी प्राप्त भएको छ। विद्यालयका गतिविधिहरू, शिक्षण पद्धति, र विद्यार्थीहरूलाई उपलब्ध गराइने सुविधाले यस क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको छ। प्रधानाध्यापक बिष्टले विद्यालयलाई अगाडि बढाउन र थप सुविधा दिनका लागि सरोकारवालाहरूको सहयोगको अपेक्षा गरेको बताए।समुदाय र स्थानीय तहसँगको समन्वयमा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

विद्यालय व्यवस्थापन समितिको योजनामा भविष्यमा अन्य शैक्षिक कार्यक्रमहरूको पनि विस्तार गर्ने योजना रहेको जानकारी रहेको छ। यसरी, श्री भुवरभवानी माध्यमिक विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा प्रदान गरेर मात्र नभएर उनीहरूको सर्वांगीण विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

विद्यालयले आफ्ना विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने क्रममा शिक्षा र अन्य अतिरिक्त क्रियाकलापलाई सन्तुलनमा राखेर अगाडि बढ्ने संकल्प लिएको छ।


प्रकाशित मिति: मंगलबार, आश्विन १५, २०८१, ०६:४४:००
प्रतिक्रिया दिनुहोस्