स्थानीय

किशोरी सशक्तिकरणका लागि शिक्षा बिषयक एक दिने अनुशिक्षण कार्यक्रम कोहलपुरमा सम्पन्न ।

Samayapati

     सन्चारिका समुह नेपाल बाँकेको आयोजना तथा सामाजिक बिकास मन्त्रालय लुम्बिनी प्रदेश दाड.को आर्थिक सहयोगमा किशोरी सशक्तिकरणका लागि शिक्षा बिषयक एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा बोल्दै शिवशक्ति आधारभुत बिद्यालयका प्रध्यानाध्यापक बद्रीनाथ सापकोटाले शिक्षा आधारभूत मौलिक हक भएको र प्रारम्भिक अवस्था देखि सिकाइका अवसरहरू मार्फत शिक्षाका लागि सफलताको जग बसाल्ने देखि माध्यमिक शिक्षासम्म किशोरीहरुको लागि शिक्षाको अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

उमेर अनुसार हुने गरेको चौतर्फी वृद्धि तथा विकासले नै एक कुशल तथा सशक्तिकृत महिला हुन मद्दत भएकाले किशोरी अवस्थामा दिइने उचित शिक्षाले नै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । किशोरी अबस्थामा धेरै परिवर्तनहरु देखा पर्ने र यस्तो अबस्था बालिकाहरुका लागि जोखिम हुने भएकाले अभिभाबकहरुले बिषेश ध्यान दिनुपर्ने बताए । शिक्षाबाट वञ्चित भएका किशोरीहरुका साथै पढाई बीचैमा छोडेका किशोरीहरूलाई समयमै प्रेरणा दिई उचित शिक्षा दिनसके उनीहरुको भविष्य तथा जीवन उज्ज्वल बन्न सक्ने भएकाले सबै किशोरीहरुको आत्मबल बढाउन तर्फ लाग्नु पर्ने बताए ।

  यस्तै प्रशिक्षक हिरा सुवेदीले आफुले सिकेका कुराहरुलाई ब्यबहारिक रुपमा लागु गदै आफ्ना साथीहरुलाई सिकाउन आग्रह समेत आग्रह गरिन् । केही समस्याहरु भएमा आफ्ना शिक्षक , घरपरिवारलाई भन्नुपर्ने बताईन् । किशोरीहरुले पढाई बिच्चैमा छोडेमा बालविवाह, घरेलु हिंसा, मानवबेचविखनको सिकार हुने जोखिम हुने भएकाले यस्ता खाले जोखिम न्युनिकरणका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट भुमिका निवार्ह गर्नुपर्ने बताईन् ।

यस्तै बिद्यालय ब्यबसथापन समितिका अध्यक्ष बिरेन्द्र कुमार बस्नेतले किशोरी सशक्तिकरणका लागि शिक्षाको महत्व धेरै रहेको बताए । हरेक बालबालिका तथा किशोरीहरुको शिक्षामा पहुँचको लागि बालबालिका लक्षित गरी आवश्यक निति बनाउन आबश्यक रहेको बताए । किशोरी शसक्त भएर लागेमा समाजमा हुने बालबिबाह जस्ता घटनाहरु पनि न्युनिकरण हुने बताए । 

 सन्चारिक समुह बाँकेका उपाध्यक्ष सरला सुवेदीको अध्यक्षता मा भएको उक्त कार्यक्रममा अनिता बिश्वकर्मा , सरण बिश्वकर्मा , पबित्रा परियारको सहभागिता रहेको थियो भने कार्यक्रमको सन्चालन धना केसीले गरेकी थिइन् । उक्त कार्यक्रममा करिब ५० जना किशोरीहरुको सहभागिता रहेको थियो ।

 


प्रकाशित मिति: मंगलबार, असार ५, २०८१, १२:३६:००
प्रतिक्रिया दिनुहोस्