स्थानीय

आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको निःशुल्क बिमा

Samayapati

नेपालगन्ज उपमहानगरपालिका वडा न. १ को कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको रू एक लाखसम्मको बिमा गर्न सुरु गरेको हो ।

म्यादी लघुजीवनमा रू एक लाखसम्मको बिमा गर्न थालिएको वडाध्यक्ष प्रमोद रिजालले बताए । उनले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी बिमा अभियान नै सञ्चालन गरिएको जानकारी दिए ।


वडाध्यक्ष रिजालका अनुसार १८ वर्षदेखि ५५ वर्षका मानिस विपन्न नागरिकको बिमा गरिने छ । वडा सचिव भुविन्द्रप्रसाद कँडेल, इन्स्योरेन्स कम्पनी नेपालगन्जका प्रबन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक विमल खड्काले सम्झौता गरेका हुन् ।

वडाध्यक्ष रिजालले १८ वर्ष उमेर भएकाको हकमा रू दुई सय ७९ र ५५ वर्षको उमेर भएकाको रू एक हजार एक सय ३५ तिरेर बिमा गरिने जानकारी दिए । बिमाबापतको रकम वडा कार्यालयले दिने छ ।

“बिमा एक वर्षका लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि गर्नुपर्छ”, रिजालले भने । उनका अनुसार सवारी चालक, उद्योगमा काम गर्ने कामदार, डकर्मी, सिकर्मी, पेन्टिङ व्यवसायी, दैनिक मजदुरी गर्ने, कृषि मजदुरलगायत श्रम गरी खाने वडाभित्रका नागरिकको बिमा गर्न लागिएको हो ।

रू एक लाखको जीवन बिमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा निजका परिवारले रू दुई लाख र क्रिया खर्च रू २५ हजार उपलब्ध गराइने इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक खड्काले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, असार ५, २०८१, १२:०४:००
प्रतिक्रिया दिनुहोस्