स्थानीय

६ जनाको ज्यान जाने गरी सोती गाउँमा भएको घटनाका साक्षीको बकपत्र आज देखि सुरु ।

Samayapati

६ जनाको ज्यान जाने गरी २०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोती गाउँमा भएको घटनाका साक्षीको बकपत्र आज मङ्गलवारदेखि सुरु भएको छ ।

रुकुम जिल्ला अदालतमा आजदेखि दुवै पक्षका साक्षीहरूको बयान लिन सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार कृतिबहादुर बोहराले बताउनुभयो ।

यस घटनाका वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई आज हाजिरी गराइएको छ भने भोलि बुधवार बकपत्र हुनेछ । स्रेस्तेदार बोहराका अनुसार आउँदो शुक्रवारसम्म बकपत्र गराइसकिने छ ।

सोती घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका ८ सोती गाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको थियो ।

तीमध्ये २३ आरोपीलाई पुर्पक्षका लागि कारागारमा राखिएको र ११ जना तारेखमा छाडिएका छन् । अदालतले थुनछेक आदेशबाट वारदात गर्न षड्यन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई एक एक लाख रुपैयाँ धरौटीमा तथा घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो ।

बाल सुधार गृहमा रहेकी मृतक नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरी र एक किशोरलाई आभिभावकको जिम्मामा रहने गरी उच्च अदालत सुर्खेतले साधारण तारेखमा छाडेको थियो ।

त्यस्तै सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर घर्तीलाई पनि साधारण तारेखमै छाडेको थियो ।

जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीको यस घटनामा ज्यान गएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।


प्रकाशित मिति: मंगलबार, कार्तिक ९, २०७८, ०६:१६:००
प्रतिक्रिया दिनुहोस्