स्थानीय

स्वास्थ्यका क्षेत्रमा न्यूनतम् ५० प्रतिसत स्वास्थ्य मापदण्ड पुरा गरी सेवा प्रवाहा गर्ने प्रतिवद्धता /

Samayapati

 अबको ६ महिनाभित्र वैजनाथ गाउँपालिका अन्तरगत रहेका ६ वटा स्वास्थ्य संस्थाहरुले कम्तिमा ५० प्रतिशत मापदण्ड पुरा गरेर सेवा प्रवाहा गर्ने गाउपालिकाका अध्यक्ष मानबहादुर रुचालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्ने क्रममा मापदण्ड पालना गरे÷नगरेको अध्ययन प्रतिवेदन सार्वजनिक भए पश्चात अहिले स्वास्थ्यको अवस्थामा सुधार गर्न बजेटको अभाव नभएकोले जिम्मेवार भएर कार्य गर्न समेत स्वास्थ्यका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । गेरुवा ग्रामिण जागरण संघ, बर्दिया र लुमन्ति आवासको लागि सहयोग समूह बाँकेको संयुक्त आयोजनामा गरीएको खानेपानी तथा सरसफाइ र स्वच्छता सुधारका लागि पैरवी कार्यशालाका क्रममा स्वास्थ्यको क्षेत्र भनेको स्वास्थ्यको महत्वपुर्ण पाटो भएकाले यस्लाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी भएको भन्दै अध्यक्ष रुचालले स्वास्थय क्षेत्रका कर्मचारीहरुलाइ निर्देश गर्नु भएको हो ।

सोहि अवसरमा गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदीले अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । उहाँले अध्ययन गरिएका सबै स्वास्थ्य संस्थाहरुको विस्तृत प्रतिवेदन सम्बन्धित स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समिति र गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ । निर्देशक सुवेदीले सार्वजनिक गरेको प्रतिवेदन बुझे लगतै गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले मापदण्डअनुरुप सेवा दिने प्रमुख जिम्मेवारी स्वास्थ्य संस्थाका कर्मचारीहरुको रहेको स्पष्ट पार्नु भयो । नीति र बजेटका सवाल समस्या भए पालिकामा सम्पर्क राख्न पनि आव्हान गर्नु भयो । गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण शाहीले प्रशासनको कार्य हेर्ने स्वास्थ्य संस्थाका प्रमुखले दैनिकरुपमा वासको अवस्था सुधार गर्न तयार गरेको योजनाअनुसार कार्य गर्नु पर्ने धारणा राख्दै पालिकाले वास सुधार योजना कार्यान्वयन बारे प्रभावकारी रुपमा अनुगमन गर्ने बताउनु भयो । यस्तै लुमन्ति आवासका लागी सहयोग समुह बाँकेका कार्यक्रम संयोजक सूर्य खड्काले गाउँ पालिकामा खानेपानी तथा सरसफाई दिगो विकासका लागि पालिकाका कर्मचारीहरुको जिम्मेवारी स्पष्ट तोक्नु पर्ने, ऐन, नीतिनियम र कार्यविधि तयार गरेर लागू गर्नु पर्ने,खानेपानी तथा सरसफाइका लागि कुल बजेटको २५ प्रतिसत बजेट छुट्टयाउनु पर्ने प्रस्तुति गर्नु भएको थियो । सो अवसरमा उहाँले वास दिगो विकास लक्ष्यको प्रतिवेदन गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाललाई हस्तान्तरण गर्नु भएको थियो ।

गेरुवा ग्रामीण जागरण संघ, बर्दियाद्वारा सिमाभीको आर्थिक सहयोगमा सन्चालित परियोजना वास इन हेल्थले विश्व स्वास्थ्य संगठन र यूनिसेफले विकास गरेको वास फिटटुलप्रयोग गरेर बैजनाथ गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्थाहरुले स्वास्थ्यका मापदण्ड पुरा गरे÷नगरेर सेवा दिएको बारे अध्ययन गरेको थियो । खानेपानी, सरसफाइ तथा स्वास्थ्य संस्थाजन्य फोहोर, स्वच्छता र व्यवस्थापनसम्बन्धी स्वास्थ्य संस्थाले लागू गर्नु पर्र्ने ६४ वटा सूचकहरुका आधारमा उक्त अध्ययन गरिएको थियो । अध्ययनले बैजनाथका ६ वटा स्वास्थ्य संस्थामध्ये टिटिहिरिया स्वास्थ्य चौकीले सबैभन्दा बढी ३६ प्रतिसत मापदण्ड पुरा गरेर सेवा दिंदै आएको छ भने नौबस्ता स्वास्थ्य चौकीले सबैभन्दा कम १. प्रतिसत मापदण्ड पुरा गरेर सेवा दिंदै आएको छ । अध्ययनमा सहभागी चिसापानी स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र, डिगिया, बनकटुवाप्राथमिक स्वास्थ्य सेवा केन्द्रर आधारभुत स्वास्थ्य सेवा केन्द्र, पेडारीले क्रमशः २१, २८, २० र २८ प्रतिसत मापदण्ड पुरा गरेर स्वास्थ्य सेवा दिइरहेका छन् । उक्त कार्यशालामा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष श्री शारदा रेग्मी, सबै वडाका अध्यक्षहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, गेरुवा र लुमन्तिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहिवार, आश्विन ७, २०७८, ०७:५५:००
प्रतिक्रिया दिनुहोस्