स्थानीय

बर्तमान सरकारले कार्यकर्ता पोस्ने कार्य गरेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप ।

Samayapati

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्ने कार्य गरेको आरोप लगाएका छन् । उनले बुधबार नेपालगञ्जमा पार्टीले आयोजना गरेको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले भने–‘ जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक, अस्पताल, पुल पुलेसा जस्ता योजना रोकेर कार्यकर्तालाई नगद बाँड्ने गरी कार्यक्रम ल्याउनु नै जनविरोधी कार्य हो ।’ उनले गठबन्धनबाट बनेको बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाए ।

‘परमादेशबाट बनेको सरकारले १ हजार ४ सय सडक आयोजना रद्ध गर्नु, परराष्ट्र मामिलाका जानकार तथा विद्वान–विद्वान व्यक्तिहरुलाई राजदुतावासबाट फिर्ता बोलाउनु, भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु र पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याउनुले बर्तमान सरकारको जनविरोधी कार्य छरपस्ट हुन्छ’– उनले भने ।

पूर्व प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, आवास, सामाजिक विकास जस्ता कुरामा तत्कालिन आफ्नो नेतृत्वको सरकारले महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको जानकारी दिंदै भने–‘ हामीले जनता आवास अन्र्तगत बनेका १२ हजार घर वितरण, ३१ वटा सडक पुल तथा २ सय १० वटा सडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्ररुपमा अघाडि बढाएका थियौ त्यो गठबँधनेलाई पाच्य भएन ।’

 

अध्यक्ष ओलीले आउँदो चुनावमा माधव नेपाल र प्रचण्ड जनता माझ भोट माग्न जानै नसक्ने जिकिर गर्दै भने–‘उनीहरुको आउने चुनावमा भोट माग्न जाने ठाउँ नै छैन, एक अर्काको मुख हेरेर बस्नुपर्ने स्थिती हुनेछ ।’ माधव नेपाल चोइटिएर गए पनि एमालेलाई त्यसले कुनै क्षति नगरेको ओलीले बताए । उनले थपे, ‘अलिकति पार्टी चोइटियो, माधव नेपाल सानो चोइटो लिएर गए । यसले केही फरक पर्दैन ।’

कार्यक्रममा लुम्विनी प्रदेसका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले माओबादी र नेकपा एकिकृत समाजवादी पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताउदै उनले माधव नेपाल र प्रचण्ड पार्टी विभाजनका प्रतिक भएको आरोप लगाए ।


प्रकाशित मिति: बुधवार, आश्विन ६, २०७८, ०८:२७:००
प्रतिक्रिया दिनुहोस्