स्थानीय

बारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सीए विषयमा छात्रवृत्ति दिने ।

Samayapati

बर्दियाको बारबर्दिया नगरपालिकाले प्राविधिकतर्फका इन्जिनियरिङ, एमबीबीएस र सीए विषय पढ्न चाहने निम्न आयस्रोत भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

यी तीन विषयमा एक–एक जनालाई छात्रवृत्ति प्रदान गर्ने योजनाअनुसार चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारुले जानकारी दिनुभयो ।

नगरभित्र ४२ सामुदायिक र १५ संस्थागत गरी कुल ५७ विद्यालयमा अध्ययनरत बालबालिकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमार्फत यी विषयमा पढ्नका लागि यो योजना अघि सारेको शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हामीले आवेदन माग गरेका छौँ । आवेदनका आधारमा छनोट गरेर छात्रवृत्ति दिन्छौँ ।

अनिवार्य तथा निःशुल्क शिक्षा प्रत्याभूत भएको नगरपालिकाका रूपमा २०७५ सालमा बारबर्दिया नगरपालिका घोषित भएको हो । त्यसयता विभिन्न शैक्षिक योजना बनाउँदै विपन्न तथा पिछडिएका समुदायका विद्यार्थीका लागि काम गर्दै आएको छ । जनतासँग नगर प्रमुख, विद्यार्थीसँग नगर प्रमुखलगायत कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक सहुलियत तथा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिरहेको नगरपालिका शिक्षा शाखा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिनुभयो ।

त्यस्तै गरी अति विपन्न, आमाबुबा नभएका बालबालिकालाई पनि आवासीय शिक्षा बाल संरक्षण केन्द्र बनाएर प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५० जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आधारभूत तहमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । प्रमुख गोसाईंले भन्नुभयो, घरैमा बस्ने तर विद्यालय जानका लागि आवश्यक कापी, किताब, पेन्सिल, पोसाक खरिद गर्न नसक्ने सय जना विद्यार्थीलाई छात्रवृत्ति दिँदै आइरहेका छौँ ।

नगरपालिकाले मुक्त कमैया, सुकुम्वासी बस्तीका बालबालिकालाई घरैमा बस्ने र पढाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने गरेको हो । बारबर्दिया नगरपालिकाले शहीद विष्णु धनी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । वन विज्ञान विषयका लागि अनुमति पाइसकेको शिक्षालयमा १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति, आठ जनाले ७५ र तीन जनाले ५० प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।


प्रकाशित मिति: बुधवार, आश्विन ६, २०७८, ०५:०१:००
प्रतिक्रिया दिनुहोस्