अन्तर्राष्ट्रिय

यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्यायो ।

Samayapati

यूएईले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध लम्ब्याएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि भन्दै यूएईले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका १३ देशमा लगाएको उडान प्रतिबन्ध आउँदो जुलाई २१ सम्मका लागि लम्ब्याएको हो ।तर कार्गो, बिजनेस र चार्टर्ड उडानका लागि भने यूएईले अनुमति दिने जनाएको छ । नेपालमा कोरोनाको दोस्रो लहर फैलिएपछि यूएईले नेपालबीच हुने व्यवसायीक उडानमा प्रतिबन्ध लगाएको हो । नेपालले भने यूएईसँगको उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान तालिका समेत सार्वजनिक गरेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले अन्तर्राष्ट्रिय उडान रोक्दा यूएईमा रोकिएका नेपालीहरू स्वदेश फर्कन पाए पनि यूएईले लगाएको प्रतिबन्धका कारण नेपाली श्रमिक भने यूएई जान पाउने छैनन् । यूएईले मान्यताप्राप्त खोपको दुवै डोज अनिवार्य लगाएको हुन पर्ने नियम बनाएको छ । तर नेपालमा अहिले खोप पर्याप्त नहुँदा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले लगाउन पाएका छैनन् ।

 


प्रकाशित मिति: आइतवार, असार १३, २०७८, ०४:१६:००
प्रतिक्रिया दिनुहोस्