अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा ८१ हजारभन्दा बढीलाई कोरोना, ४६९ को मृत्यु ।

Samayapati

चैत्र २०

भारतमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ४ सय ६९ जनाको मृत्यु भएको छ ।कोरोनाबाट एकै दिन ज्यान गुमाउने यो जनवरीयताकै उच्च संख्या हो । बिहीबार पनि भारतमा कारोना संक्रमणबाट ४ सय ५९ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ । पछिल्ला दिनहरूमा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भारतीय अधिकारीहरूले जनाएका छन् । गएको २४ घण्टामा मात्रै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ । भारतको महाराष्ट्र राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ४३ हजार १ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना महामारी सुरु भएपछि महाराष्ट्रमा एकैदिन सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । महाराष्ट्रको राजधानी मुम्बईमा मात्रै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये १ करोड १४ लाखभन्दा बढी निको भइसकेका मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म ६ करोड ८७ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । बिहीबार मात्रै खोप लगाउनेको संख्या ३६ लाख ७१ हजार २ सय ४२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा जनवरी १६ देखि खोप अभियान सुरु गरिएको हो । भारतीय चिकित्सा अनुसन्धान परिषद्ले पछिल्लो समय भाइरस परीक्षणमा समेत तीव्रता दिइएको जनाएको छ । सोमबारसम्म २४ करोड ५९ लाखभन्दा बढीमा भाइरस परीक्षण गरिसकिएको परिषद्ले जनाएको छ । बिहीबार भारतमा ११ लाख १३ हजार ९ सय ६६ नमुना परीक्षण गरिएको थियो । कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा भारत तेस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ५३ हजार १ सय द्द० जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ३ करोड ५ लाख ३८ हजारभन्दा बढी संक्रमित भएका छन् ।सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २८ लाख ८२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १२ करोड ९५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।


प्रकाशित मिति: शुक्रवार, चैत्र २०, २०७७, ०२:५०:००
प्रतिक्रिया दिनुहोस्