राष्ट्रिय

मुस्ताङमा नौ महिनापछि खुले होटल, पर्यटकको चहलपहल बढदै ।

Samayapati

 पुस २०

हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड(१९ का कारण बन्द होटल व्यवसाय खुलेसँँगै पर्यटकको चहलपहल सुरु भएको छ । विश्वभर फैलिएको कोभिड(१९ को सङ्क्रमण फैलन नदिन लकडाउनले ९ महिनादेखि बन्द होटल व्यवसाय सञ्चालनमा आएपछि आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्न थालेका छन् ।बन्द होटल, व्यवसाय खुला गर्ने निर्णयपछि अहिले पोखरा, बुटवललगायत विभिन्न ठाउँका पर्यटकहरु भ्रमणमा आएको मुस्ताङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो ।लामो समयसम्म बन्द होटल तथा रेष्टुरेण्टहरु खुलेपछि अहिले पर्यटकको आगमन सुरु हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार संघको निर्णयबाट गएको बिहीबारदेखि मुस्ताङमा होटल, व्यवसाय खोलिएको हो । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं पर्यटन व्यवसायी समेत रहनुभएका तुलाचनले जिल्लामा बन्द होटल व्यवसाय सञ्चालनमा आएको विषयमा जानकारी दिँदै भन्नुभयो( ‘सबैलाई मुस्ताङ भ्रमणको चुले निम्तो छ, आउनुहोस् मज्जाले घुमेर जानुहोस् ।मुस्ताङ जिल्लाको कला, संस्कृति र परिवेशसमेत छुट्टै रहेकाले यसको विविध आयामहरुको अध्ययन तथा अवलोकनका लागि धेरै क्षेत्रहरु रहेको उहाँको भनाइ छ । कोरोना भाइरसकै कारण लामो समयसम्म होटल व्यवसाय बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष असर परेपछि पछिल्लो समय लकडाउन खुला भएसँगै अन्य क्षेत्र पनि खोलिएको छ ।यसैगरी हिन्दू र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर पनि आउँदो मङ्गलबार सर्वसाधारणहरुका लागि खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । मुक्तिनाथ विकास समिति, स्थानीय प्रशासन, संघ तथा प्रदेशका सांसदहरु, जिल्ला समन्वय समिति, गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी बैठकमा मन्दिर खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताउनुभयो ।मन्दिर खुला गरिने हुँदा सर्वसाधारणलाई स्वास्थ्यका सम्पूर्ण मापदण्डहरुको पालना गर्न आग्रह गरिएको छ ।


प्रकाशित मिति: सोमवार, पुष २०, २०७७, १२:५६:००
प्रतिक्रिया दिनुहोस्