स्थानीय

सृजना सहकारी सस्थाको २६औँ वार्षिक साधारण सभा सम्पन्न!

Samayapati

 बाँकेको कोहलपुर–११ स्थित सृजना सहकारी संस्था लिमिटेडको २६औँ वार्षिक साधारण सभा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

यस सहकारी संस्थाको वार्षिक प्रगति सार्वजनिक गर्ने, ऋण तथा बचत व्यवस्थापनको अवस्था प्रस्तुत गर्ने, आगामी वर्षका कार्ययोजना स्पष्ट गर्ने तथा सदस्यहरूको सुझाव संकलन गर्ने उद्देश्यले साधारण सभा आयोजना गरिएको हो।

कार्यक्रमका अध्यक्ष दशरथ शर्मा पराजुलीको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि आचार्यले सहकारीले स्थानीय आर्थिक सुदृढिकरणमा बजाएको भूमिकाको प्रशंसा गरे। उनले भने— “सहकारीको मूल आत्मा पारदर्शिता, विश्वास र सहकार्य हो। सिर्जना सहकारीले कृषक, उद्यमी र विपन्न वर्गलाई आर्थिक अवसर उपलब्ध गराउँदै आएको योगदान प्रशंसनीय छ। आगामी दिनमा अझै जिम्मेवारीपूर्वक सेवा विस्तार गर्नुपर्छ।”

विशिष्ट अतिथि श्री सहकारी संस्था कोहलपुर–११ का अध्यक्ष पारसनाथ थारुले सहकारीको प्रगति विवरण प्रस्तुत गर्दै भने— “यो सहकारीमा १,७५६ शेर सदस्य आवद्ध रहेका छन्। २०६ जनालाई ऋण लगानी गरेर रोजगार सिर्जना गरिएको छ भने ४५० कृषकलाई दूध कारोबारमा जोडेर नियमित आम्दानीको आधार बनाइएको छ। यश सहकारीको उन्नति–प्रगति उत्कृष्ट छ।” उनका अनुसार संस्थाले ११ जनालाई प्रत्यक्ष र ३५–३६ जनालाई अप्रत्यक्ष रोजगार उपलब्ध गराएको पनि उल्लेख गरे।

कार्यक्रमको सहजीकरण सभाको सम्पूर्ण कार्यक्रम सञ्चालन तथा सहजीकरण सहकारीका व्यवस्थापक चन्द्रलाल तिवारीले गरेका थिए। तिवारीले स्वागत, कार्यसूची प्रस्तुत गर्दै विभिन्न सत्रहरूलाई अनुशासित र प्रभावकारी ढंगले अगाडि बढाएका थिए।

अध्यक्षको समापन भनाइ समापन सत्रमा अध्यक्ष दशरथ शर्मा पराजुलीले सहभागी सबैप्रति आभार व्यक्त गर्दै सहकारीलाई अझ पारदर्शी, सदस्यमुखी र दिगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले भने— “हामीले हासिल गरेका उपलब्धि सदस्यहरूको विश्वासकै कारण सम्भव भएको हो। आगामी दिनमा सेवा गुणस्तर वृद्धि, बचत तथा ऋण व्यवस्थापनमा सुधार र कृषक तथा सीप–आधारित व्यवसायमा अझै ठूलो लगानी गर्दै अघि बढ्नेछौं।” सभामा विभिन्न सहकारी संघ–संस्था, सरोकारवाला तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


प्रकाशित मिति: शुक्रवार, मंसिर २७, २०८२, ०३:३९:००
प्रतिक्रिया दिनुहोस्