कोहलपुरमा गहना निर्माण तालिम सम्पन्न , परम्परा र प्रविधिको संगममार्फत युवाको स्वरोजगार यात्रा!
स्थानीय
शैक्षिक प्रविधिमा अग्रसर: भुवर भवानी मा.वि. राप्ती सोनारी ५ को गौरव!

बाँकेको राप्ती सोनारी गाउँपालिका–५, बिलौनामा अवस्थित भुवर भवानी माध्यमिक विद्यालयको स्थापना २०१६ सालदेखि नै ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षा पहुँचमा पुर्याउने उद्देश्यसहित निरन्तर अघि बढिरहेको छ।
जनसहभागिता, सीमित स्रोत र स्थानीय तहको सहकार्यमा सञ्चालन हुँदै आएको विद्यालय पछिल्लो समय प्रविधिमैत्री शिक्षामा जोड दिँदै आएको भए पनि शुद्ध पिउने पानी र शौचालयजस्ता आधारभूत सुविधाको अभावमा अझै पनि संघर्षरत एक मात्र राप्ती सोनारीकै पुरानो बिद्यालय हो।
विद्यालयको स्थापना कालदेखि नै गाउँका अभिभावकहरू, समुदाय र शिक्षकहरूको साझा प्रयासमा शैक्षिक गतिविधि सञ्चालन हुँदै आएको विद्यालयले ग्रामीण भेगका बालबालिकालाई गुणस्तरीय, व्यावहारिक तथा प्रविधिसँग जोडिएको शिक्षामा पहुँच दिने गरेको भएता पनि पछिल्लो समय प्रविधिको प्रयोगमार्फत विद्यार्थीमैत्री र प्रयोगात्मक शिक्षालाई प्राथमिकतामा राख्दै विद्यालयले आफ्नो पहिचान विस्तार गर्दै आएको छ।
हाल यस विद्यालयमा बाल शिक्षा देखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा हाल ४५० जना विद्यार्थी अध्ययनरत छन् भने गत वर्ष विद्यार्थी संख्या ४७१ थियो। विद्यार्थी संख्यामा सामान्य गिरावट आए पनि शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रयास जारी रहेको विद्यालय प्रशासन बताउँछ। विद्यालयमा हाल १८ जना शिक्षक कार्यरत छन्। यसबाहेक, दुई जना लेखापाल र दुई जना कार्यालय सहयोगी प्रशासनिक काममा खटिएका छन्। शिक्षकहरूको संरचना हेर्दा, माध्यमिक तहमा पाँचजना स्थायी शिक्षक कार्यरत छन्। त्यस्तै, नि.मा.बि तहमा एकजना र प्राथमिक तहमा तीनजना शिक्षक छन्। संघीय सरकारको अनुदानमा दुईजना शिक्षक, गाउँपालिकाको अनुदानमा तीनजना शिक्षक तथा बालविकास तहमा एकजना शिक्षक कार्यरत छन्।
शैक्षिक गुणस्तर सुधारमा विद्यालयले प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिएको छ। विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ, जसले विद्यार्थीलाई सूचना प्रविधिको आधारभूत ज्ञान प्रदान गर्दै आएको छ। यस्तै, पुस्तकालय, स्मार्ट टिभी र विज्ञान प्रयोगशालाको पनि व्यवस्था गरिएको छ। विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने उद्देश्यले प्रयोगशालामा आवश्यक सामग्रीहरू उपलब्ध गराइएको प्रधानाध्यापक चेतबहादुर बिष्ट बताउँछन्। यसरी प्रविधिमा विद्यालय अघि बढ्दै गर्दा शुद्ध पिउने पानी र शौचालयको व्यवस्था भने अझै संस्थागत सहयोगविना आफैंले व्यवस्थापन गर्नु परेको छ।
विद्यालयमा हाल शौचालय र पिउने पानीको व्यवस्था जिर्ण छ तर विद्यालयले हालसम्म शुद्ध पिउने पानी र शौचालयको निर्माण तथा सुधारका लागि कुनै पनि सरकारी वा गैरसरकारी अनुदान प्राप्त गर्न सकेको छैन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेगबहादुर खड्काले आफूहरू आफ्नै प्रयासमा यी सुविधा जुटाउन बाध्य भएको जानकारी दिए। उनका अनुसार, “हामीले प्रविधिमा लाग्यौं, कम्प्युटर ल्याब, स्मार्ट टिभी, पुस्तकालय सबै व्यवस्था गर्यौं तर शुद्ध पिउने पानी र शौचालयजस्ता अत्यावश्यक सुविधाका लागि भने सहयोग हात लागेन। स्थानीय स्रोत र अभिभावकहरूको सहकार्यमा यी कुरा व्यवस्था गरिरहेका छौं।”
प्रधानाध्यापक बिष्टका अनुसार, विद्यालयले विद्यार्थीको नियमित उपस्थिति, पढाइमा ध्यान, मूल्यांकन प्रणाली र शिक्षकको तालिममा जोड दिँदै आएको छ। प्रविधिको प्रयोगले विद्यार्थीहरूमा सिकाइमा चासो र संलग्नता बढेको उनको अनुभव छ। यस्तै, विद्यालयमा बालमैत्री वातावरण बनाउने प्रयास पनि भइरहेको छ।
सूचना अधिकारी कैलाशपति थारुका अनुसार, विद्यालयका सबै निर्णय, आर्थिक विवरण र योजनाहरू पारदर्शी रूपमा प्रस्तुत गर्ने र अभिभावक, सरोकारवालासँग नियमित संवाद गर्ने अभ्यास विद्यालयमा गरिएको छ। “हामी विद्यालयलाई पारदर्शी र सहभागी बनाउने दिशामा लागेका छौं,” उनले भने। शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै गाउँपालिका र संघीय सरकारबाट प्राप्त शिक्षकमार्फत केही राहत त मिलेको भए पनि आधारभूत पूर्वाधार र शैक्षिक सामग्रीका लागि अझै सहयोगको खाँचो रहेको विद्यालय प्रशासनको भनाइ छ। विशेष गरी बालमैत्री शौचालय, शुद्ध पिउने पानी र नियमित मर्मतको लागि छुट्टै बजेट आवश्यक रहेको उनीहरूको आग्रह छ।
विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विद्यालयले स्थानीय समुदाय, अभिभावक र शिक्षकहरूबीचको सहकार्यलाई बलियो बनाउँदै गुणस्तरीय शिक्षाको आधार तयार गर्ने प्रयास गरिरहेको छ। विभिन्न तहबाट आवश्यक सहयोग प्राप्त भएमा विद्यालयले आगामी दिनमा नमुना शिक्षालयका रूपमा स्थापित हुने विश्वास विद्यालयका शिक्षक, शिक्षिकाहरुले व्यक्त गरेका छन। बाँकेको ग्रामीण भेगमा प्रविधिमैत्री शिक्षाको अभ्यास, समुदायको सहभागिता र विद्यालयको आत्मनिर्भरता आजको अवस्थामा प्रेरणादायी बनेको छ।
तर, सँगसँगै शिक्षा नीतिमा विद्यालयको खाँचो अनुसारको पूर्वाधार र स्रोतसाधनको सुनिश्चितता पनि अपरिहार्य देखिन्छ। भुवर भवानी माविको यात्रा संघर्षको कथा मात्रै होइन, सम्भावनाको उज्यालो संकेत पनि हो।
थप समाचार



स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!