स्थानीय

युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!

Samayapati

कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको आयोजनामा सम्पन्न ‘युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक दुई दिने तालिम शिक्षकहरूका लागि सशक्त बनाउने अभ्यासको रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

तालिम नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत ४० जना शिक्षक–शिक्षिकालाई लक्षित गरी उक्त तालीम सञ्चालन गरिएको हो।

अपाङ्गता भएका विद्यार्थीहरूको फरक आवश्यकतालाई बुझ्दै शिक्षण वातावरण समावेशी बनाउनुपर्ने लक्ष्यसहित सञ्चालन गरिएको तालिमको ”अध्यक्षता कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक ईश्वरीप्रसाद विश्वकर्माले गरेका थिए। तालिमको उद्देश्यबारे जानकारी दिँदै नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमालले युडिएल तालिमले शिक्षकहरूलाई सोच र अभ्यासमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।

मुख्य प्रशिक्षक मनोज गोहिबारले लचकता, दृष्टान्त प्रयोग, पहुँचयुक्त सामग्री निर्माण र फरक मूल्याङ्कन विधि जस्ता विषयमा अन्तरक्रियात्मक अभ्यास गराएका थिए। अपाङ्ग समावेशी शिक्षा विज्ञ गणेश प्रसाद पाण्डेले अपाङ्गता प्रकार, शिक्षण प्रविधि र शिक्षकको भूमिकामाथि गहन प्रस्तुति दिएका थिए। उनले भने, “सहानुभूतिलाई व्यवहारमा रूपान्तरण गर्न शिक्षक संवेदनशील र लचक बन्नैपर्छ।” सहभागी शिक्षकहरूले समूह कार्य, प्रस्तुति, केस स्टडी र सिमुलेसन अभ्यासमा सक्रिय सहभागिता जनाए। उनीहरूले तालिमले शिक्षण अभ्यासमा नयाँ दृष्टिकोण दिएको प्रतिक्रिया दिएका छन्। समापन सत्रमा संयोजक विश्वकर्माले तालिमलाई विद्यालय तहमा व्यवहारिक रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाए।

तालिमको सहजीकरण शिक्षा अधिकृत शिला गौतमले गरेकी थिइन्। उनले भनिन्, “युडिएल सोचको रूपान्तरण हो, जसले सबै विद्यार्थीको सम्मान र सहभागिता सुनिश्चित गर्छ।” कार्यक्रमको अन्त्यमा सहभागी शिक्षक–शिक्षिकालाई प्रमाणपत्र र तालिम किट (ब्याग) प्रदान गरिएको थियो।


प्रकाशित मिति: शनिवार, बैशाख २७, २०८२, ०२:५३:००
प्रतिक्रिया दिनुहोस्