स्थानीय

कोहलपुरमा समावेशी शिक्षाका लागि ‘युडिएल’ तालिम सुरु !

Samayapati

कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको आयोजनामा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापन गराइरहेका शिक्षक तथा शिक्षिकाहरूलाई लक्षित गरी ‘युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक दुई दिने तालिम सुरु गरिएको छ।

अपाङ्गता भएका विद्यार्थीहरूको फरक आवश्यकतालाई बुझ्दै उनीहरूको सिकाइअनुकूल शिक्षण वातावरण निर्माण गर्न शिक्षकहरूलाई अभिप्रेरित गर्नु तालिमको मुख्य उद्देश्य हो।

 तालिममा कोहलपुर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत ४० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वरीप्रसाद विश्वकर्माको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले तालिमको औपचारिक उद्घाटन गरेका थिए।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि आचार्यले भने, “शिक्षा सबैको अधिकार हो। अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्न शिक्षकको दृष्टिकोण र व्यवहारमै परिवर्तन आवश्यक छ। यस्ता तालिमहरू शिक्षामा सामाजिक न्यायका आधार बनिन्छन्।

” तालिमका बारेमा जानकारी दिँदै नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमालले भने, “हामी कोहलपुरमा समावेशी शिक्षाको सुदृढ आधार निर्माण गर्दैछौं। युडिएल तालिम शिक्षकहरूका लागि सोच र अभ्यास दुवैमा परिवर्तन ल्याउने अवसर हो। विद्यालय तहमा यस्ता अभ्यासको प्रभावकारिता दीर्घकालीन हुन्छ भन्नेमा हामी विश्वस्त छौं।” मुख्य सहजकर्ता मनोज गोहिबारले युडिएल अवधारणामाथि गहिरो व्याख्या गर्दै शिक्षकहरूलाई अन्तरक्रियात्मक अभ्यास गराए। उनाले शिक्षणमा लचकता, दृष्टान्त प्रयोग, पहुँचयुक्त सामग्री निर्माण र फरक मूल्याङ्कन पद्धतिबारे व्यवहारिक अभ्यास गराउन जोफ दिए।

अपाङ्ग समावेशी शिक्षा विज्ञ गणेश प्रसाद पाण्डेले शिक्षकहरूलाई अपाङ्गता प्रकार, आवश्यकता र शिक्षण विधिबारे गहन प्रस्तुति दिए। उनाले भने, “समावेशी शिक्षामा सहानुभूति मात्र हैन, दृष्टिकोण र प्रविधिको संयोजन जरुरी छ। शिक्षक संवेदनशील र लचक बन्नु नै परिवर्तनको पहिलो पाइला हो।” तालिममा सहभागी शिक्षकहरूले समूह कार्य, प्रस्तुति, केस स्टडी र सिमुलेसन अभ्यासहरूमा सक्रिय सहभागिता जनाए। उनीहरूले यस्तो तालिमले आफ्ना शिक्षण अभ्यासमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा संयोजक ईश्वरीप्रसाद विश्वकर्माले सबै सहभागी र प्रशिक्षकलाई धन्यवाद दिँदै विद्यालय तहमा तालिमको प्रयोगात्मक कार्यान्वयन सुनिश्चित गरिने प्रतिबद्धता जनाए। कार्यक्रमको सहजीकरण कोहलपुर नगर शिक्षा शाखा प्रमुख शिला गौतमले गरेकी थिइन। उनाले भनिन्, “युडिएल शिक्षा प्रविधिको माध्यम मात्र होइन, सोचको रूपान्तरण हो। सबै विद्यार्थीको सम्मान, पहुँच र सहभागिता सुनिश्चित गर्नु नै समावेशी शिक्षाको सार हो।” 


प्रकाशित मिति: शुक्रवार, बैशाख २६, २०८२, ०८:२१:००
प्रतिक्रिया दिनुहोस्