स्थानीय

कोहलपुर–४ मा नि:शुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सुरु!

Samayapati

कोहलपुर–४ मा नि:शुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सुरु बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर–४ स्थित रझेना स्वास्थ्य चौकीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि नि:शुल्क स्क्रिनिङ शिविर सञ्चालनमा आएको छ।

शिविर सञ्चालनको प्रमुख उद्देश्य महिलाहरूमा बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिमलाई समयमै पहिचान गर्दै आवश्यक चिकित्सकीय सल्लाह तथा उपचारतर्फ मार्गदर्शन गर्नु हो।

कोहलपुर नगरपालिका वडा नम्बर ४ कि कार्यबाहक वडा सदस्य निर्मला थापाको अध्यक्षतामा प्रमुख अतिथि   नगरपालिकाकी उपप्रमुख संगिता सुवेदीले ब्यानर पढेर उक्त कार्यक्रमको  उद्घाटन गरिन ! उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि  उपप्रमुख सुवेदीले नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। पछिल्ला दिनमा महिलामा पाठेघरको मुखको क्यान्सर तीव्र रूपमा देखिन थालेकाले समयमै पहिचान गरी रोकथाम गर्न यस्ता शिविरहरू अत्यन्त प्रभावकारी हुने उनको भनाइ थियो। उपप्रमुख सुवेदीले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न वडा तहमा आधारभूत स्वास्थ्य चौकी र नगर तहमा नगर अस्पतालमार्फत सेवा प्रवाह भइरहेको जानकारी दिइन्।

सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद बिकले रोगको प्रारम्भिक अवस्था मै पहिचान गरी उपचार गरेमा धेरै ज्यान बचाउन सकिने भन्दै यस्ता शिविरले निरोगी जीवनशैली कायम गर्न सहयोग पुग्ने बताए।

शिविर कोहलपुरस्थित आर.एम. हस्पिटलको पहलमा सञ्चालन गरिएको हो भने कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाले सहकार्य गरेको छ। आजको कार्यक्रमको  जानकारी महिला तथा बालबालिका शाखाकी तारा भण्डारीले दिएकी हुन्। वडा नम्बर ३ र ४ का महिलाहरूलाई लक्षित गर्दै सञ्चालनमा आएको यो शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कविता सिन्हाको नेतृत्वमा विशेषज्ञ टोलीले परीक्षण सेवा प्रदान गरिरहेको छ।

यसअघि गत बैशाख १८ गते वडा नम्बर–१५ स्थित नगर प्रवर्द्धन केन्द्रमा आयोजित यस्तै शिविरमा ६० जना महिलाले परीक्षण गराएका थिए। तीमध्ये १० जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको थियो। स्वास्थ्य सचेतना र प्रारम्भिक पहिचानमार्फत महिलाको जीवनरक्षा गर्न यस्तो अभियानले महत्वपूर्ण योगदान पुर्‍याउने  विश्वास गर्दै अध्यक्ष थापाद्वारा कार्यक्रमको समापन  गरिएको छ। 


प्रकाशित मिति: शनिवार, बैशाख २७, २०८२, ०२:२८:००
प्रतिक्रिया दिनुहोस्