युडिएल : सिकाइको विश्वव्यापी ढाँचा’ विषयक तालिम सम्पन्न, सहभागी शिक्षकलाई प्रमाणपत्र वितरण!
राष्ट्रिय
वैशाख १ गतेदेखि श्रम स्वीकृतिको आवेदन पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत दिन सकिने ।

आउँदो वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने र पुनः श्रम स्वीकृति लिनेहरूको श्रम स्वीकृतिको आवेदन पालिकास्तरमा रहेका रोजगार सेवा केन्द्रले नै भरिदिने भएका छन् ।
अनलाइन प्रणालीबाट आवेदन दिनु पर्ने हुँदा विभिन्न श्रम कार्यालय अघिल्तिर रहेका साइबर र बिचौलियाहरूबाट श्रमिक ठगीमा परेको भन्दै रोजगार सेवा केन्द्रबाट नै आवेदन भरिदिने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
सरकारले यो व्यवस्था गरेसँग अब वैशाख १ गतेदेखि देशभरका ७५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृतिको आवेदन दिन सकिन्छ ।
संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृतिको आवेदन म्यानपावर कम्पनीले नै आवेदन गर्ने भए पनि व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर पहिलो पटक वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिनेहरू आफैँले अनलाइन आवेदन दिन पर्छ ।
तर कयौँ श्रमिक इन्टरनेटको पहुँच, सूचना प्रविधिबारे ज्ञानको अभाव लगायत विविध कारणले अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिनकै लागि मोटो रकम बुझाउन बाध्य छन् । श्रम तथा रोजगार कार्यालय अघिल्तिर श्रमिकको आवेदन भरिदिने भन्दै चर्को शुल्क लिने साइबर र एजेण्टहरु पनि भेटिन्छन् ।
यही समस्यालाई मध्यनजर गर्दै श्रमिकको सहजताका लागि आफ्नो गाउँपालिका वा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर २०८० सालको वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने व्यवस्था श्रम सचिव अर्यालको अग्रसरतामा बिहीबार प्रधानमन्त्रीस्तरीय निर्णय भएको हो ।
‘अनलाइनमार्फत नै श्रम स्वीकृति पाइने व्यवस्था भएपछि कार्यालयमा लाइन लाग्नु पर्ने बाध्यताको त अन्त्य भयो तर अनलाइन आवेदन दिनै श्रमिक ठगिन पर्ने बाध्यता रह्यो’ श्रम सचिव अर्यालले भन्नुभयो ‘अब नयाँ वर्षदेखि रोजगार सेवा केन्द्रका कर्मचारीले नै उहाँहरूको आवेदन फारम भरिदिनुहुन्छ, त्यसका लागि काठमाण्डौ धाउन पर्दैन ।’
पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनबाट नै प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि श्रम तथा रोजगार कार्यालयहरूमा धाउन र लाइन लाग्न पर्दैन । विदेशबाट नेपाल आउन पनि पर्दैन ।
विदेशमै रहेका नेपालीले आफैँले अनलाइनबाट र कुनै समस्या भएमा त्यहाँ रहेको नेपाली नियोगको सहायतामा श्रम स्वीकृति लिन सक्छन् । दूतावासबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यवस्था मन्त्रालयले यसअघि नै गरिसकेको छ । अनलाइनबाट आवेदन दिएपछि अनलाइनमार्फत नै श्रम स्वीकृतिको निस्सा प्राप्त हुन्छ ।
रोजगार सेवा केन्द्रका कर्मचारीलाई अनलाइन प्रणाली र आवेदन दिने प्रक्रियाबारे तालिम दिने र वैशाख १ गतेदेखि आवेदन लिने प्रक्रिया सुरु हुने पनि सचिव अर्यालले जानकारी दिनुभयो ।
थप समाचार


स्थानीय
राष्ट्रिय
Follow Us
View our latest news on any of these social networks!