राष्ट्रिय

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन ।

Samayapati

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि ठाउँठाउँमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ ।

मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । उनीहरुले केहीबेर गाडीको अवागमन समेत रोकेका प्रहरीले जनाएको छ । यस्तै, यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विराटनगरमा चक्काजाम गरेका छन् ।

सरकारले गएरातिदेखि लागू हुने गरी मूल्य बढाएपछि यसको चौतर्फी विरोध भएको छ । भाउ घटाएर नागरिकलाई राहत दिन दबाब बढेको छ । सामाजिक सञ्जालमा मूल्यवृद्धिको विरोध गर्दै इन्धनमा भारी वृद्धि हुँदा गाडीभाडादेखि बजार मूल्यसम्म आकाशिने भएकाले यसतर्फ ध्यान दिन सबैले सरकारलाई आग्रह गरेका छन् ।

आयल निगमले डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।


प्रकाशित मिति: सोमवार, असार ६, २०७९, ०४:००:००
प्रतिक्रिया दिनुहोस्