राष्ट्रिय

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै ।

Samayapati

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकबाट आज बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गर्ने तयारी छ ।

आजको सम्भावित कार्यसूचीमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने उल्लेख छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकैबीच गएको सोमवार प्रतिनिधि सभाबाट बजेट अर्थात विनियोजन विधेयक पारित भएको थियो ।

राष्ट्रिय सभाको अस्तिको बैठकमा विनियोजन विधेयक पेस भएको छ । राष्ट्रिय सभा बैठकमा आज विधेयकमाथि छलफल गर्ने कार्यसूची छ। दुवै सदनबाट पारित भएको बजेट राष्ट्रपतिले प्रमाणित गरेपछि बल्ल सरकारले खर्च गर्न पाउनेछ ।

विधेयक पारित नहुँदा गएको ३० गते रातिदेखि सरकार बजेट खर्च गर्न नपाउने अवस्थामा छ । एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची ननिकालेर सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजन गर्न भूमिका खेलेको भन्दै लगातार संसदमा नाराबाजी गर्दै आएको छ ।


प्रकाशित मिति: बुधवार, आश्विन ६, २०७८, ०२:२२:००
प्रतिक्रिया दिनुहोस्