स्थानीय

कोहलपुर –१ का ९१ भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण, ऐतिहासिक कार्यको सुभारम्भ !

Samayapati

 कोहलपुर, वैशाख २० – कोहलपुर नगरपालिका वडा नं. १ का ९१ जना भूमिहीन दलित र सुकुम्बासी नागरिकले आज आफ्नै नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) प्राप्त गरेका छन्।

नेपाल सरकारका भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलाराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित समारोहबाट यो ऐतिहासिक कार्यको औपचारिक सुभारम्भ गरिएको हो।

वर्षौंदेखि आफैंले जोतेको जमिनको कानुनी अधिकार नपाउँदा अन्यायमा परेका समुदायले आज लालपूर्जा हातमा पाउँदा उत्सवमय वातावरण बनेको थियो। मन्त्रीमण्डलका सदस्य समेत रहेका अधिकारीले कोहलपुरलाई लुम्बिनी प्रदेशकै पहिलो तथा देशभरका ७५३ पालिकामध्ये चौथो पालिकाको रूपमा लालपूर्जा वितरण गर्ने पालिका बन्न सफल भएको जानकारी दिए।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भने, “यो अभियानले सामाजिक न्यायको प्रत्याभूति गराउनुका साथै नगरपालिकाले गरेको प्रतिबद्धता व्यवहारमा लागू भएको सन्देश दिएको छ।” उनले बाँकी भूमिहीन परिवारलाई समेत क्रमशः लालपूर्जा वितरण गरिने जनाउँदै सबै पक्षको सहकार्यप्रति आभार व्यक्त गरे।

उप–प्रमुख संगीता सुवेदीले भूमिहीन र सुकुम्बासीका लागि प्राप्त यो उपलब्धिलाई समावेशी विकासतर्फको ठोस पाइला भन्दै नगर सरकारको सक्रियताले अब अझै विश्वास बढ्ने विश्वास व्यक्त गरिन्।

कोहलपुर वडा नं. २ का वडाध्यक्ष हरि कठायतले विभिन्न वडाका वडाध्यक्ष, नगर कार्यपालिका सदस्य, राजनीतिक दल, संघसंस्था, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी तथा स्थानियवासीको सशक्त सहकार्यले मात्र यस्तो उपलब्धि सम्भव भएको बताए। 

त्यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बर्दी प्रसाद जैसीले आफ्नो वडामा रहेका भुमिहिन र सुकुम्बासीले आफ्नो नाममा पुर्जा पाएकोले आफू पनि  खुसी भएको बताए ।

भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, वडा नं. १२ का वडाध्यक्ष तथा कांग्रेस नगर सभापति बिरेन्द्र कुमार शाह र कांग्रेस बाँके सभापति नारायण प्रसाद गौडेलको विशेष योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिएको थियो। प्रमुख अतिथि मन्त्री अधिकारीले यस अभियानलाई ऐतिहासिक परिवर्तनको थालनीको रूपमा मूल्यांकन गर्दै अन्य पालिकालाई पनि कोहलपुरको अनुकरणीय पहलबाट सिक्न सुझाव दिए।

 


प्रकाशित मिति: शनिवार, बैशाख २०, २०८२, ०४:५९:००
प्रतिक्रिया दिनुहोस्